डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। उनी डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो। श्रेष्ठले सार्वजनिक पदमा रहेर पदीय अख्तियारको दुरुपयोग गरी अस्वाभाविक जीवनस्तर यापन गरेको र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो।
सार्वजनिक सेवाका क्रममा करिब ३२ वर्ष श्रेष्ठ र उनको परिवारको वैध आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ देखिएको तथा खर्च र लगानी ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ देखिएको आयोगले जनाएको छ। उनको कुल आयभन्दा व्यय १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँले बढी देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेकोले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियारले मुद्दा दायर गरेको हो।
आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ। साथै, गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि मागदाबी गरिएको छ।
श्रेष्ठले राष्ट्रसेवक पदमा रहँदा सम्पत्ति विवरण लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पाइएकोले सो कसूरमा पनि थप कैद र जरिवानाको माग पनि अख्तियारले गरेको छ।
अख्तियारले श्रेष्ठले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र बुहारी सञ्चालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि. को नाममा लुकाएको पाइएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी बनाएको छ।
प्रकाशित: १७ कार्तिक २०८२ १३:५४ सोमबार