समाज

सुन प्रकरणमा उम्केका अधिकारीलाई भ्रष्टाचार मुद्दा

सुन काण्डमा जोगिएका राजस्व विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।

७० लाख घुस लिएको अभियोगमा अख्तियारले अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले उनीसहित तीन जनाविरुद्ध घुस तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा आइतबार दायर गरेको हो।

अख्तियारले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट राजस्व चुहावटसम्बन्धी छानबिनमा सहजीकरण गरिदिने भन्दै अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको दाबी गरेको छ। दुई वर्षअघि अधिकारी ६० किलो सुन तस्करीमा प्रकरणमा मुछिएका थिए। त्यतिबेला उनले सुन तस्कर चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग विच्याटमा कुराकानी गरेको तथ्य बाहिरिएको थियो। त्यतिबेला अधिकारी अध्यागमन विभागका प्रमुख थिए। प्रमुख हुँदा करुवा, पानी तान्ने मेसिनमार्फत सुन तस्करी गराएको आरोप अधिकारीमाथि लागेको थियो। त्यसबाट उम्केका अधिकारीलाई अहिले सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको हो।

अख्तियारले अनुसन्धानका क्रममा तत्कालीन महानिर्देशक अधिकारीले घुस विभिन्न व्यक्तिका खातामार्फत बैंक तथा वित्तीय संस्थामा जम्मा गरी स्वरूप बदलेर लिएको खुलेको छ। उक्त घुस रकम विभिन्न व्यक्ति र बैंक खातामार्फत घुमाएर कर्जा तिर्न र जग्गा खरिदमा प्रयोग गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अधिकारी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा बुढानीलकण्ठ र बालुवाटारमा पहुँच बनाएर विभागको महानिर्देशक बनेका थिए। अधिकारीले राजस्वको महानिर्देशक बनेको एक महिना नबित्दै यो घुसको डिल गरेको अख्तियारको दाबी छ।

अधिकारीले सुरुमै २० लाख रुपैयाँ ऋण तिर्नमा प्रयोग गराएका थिए। २०७९ साउन २४ गते श्रीकृष्ण श्रेष्ठले आफ्नो कम्पनी एचके इन्टरप्राइजेजको खाताबाट तीन वटा चेकमार्फत २० लाख रुपैयाँ अधिकारीलाई दिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ। घुसको ७० लाखमध्ये सात लाख रुपैयाँ अधिकारीले ममता पुरीको नामबाट लिएको तथा घुसको ७० लाखमध्ये ६ लाख रुपैयाँ मिसन लामिछानेका नामबाट लिएको अख्तियारले दाबी छ।

 यसैगरी घुसको ७० लाखमध्ये अधिकारीले सात लाख रुपैयाँ देवराज अर्यालका नाममा लिएका थिए। तीनवटै चेक ‘द कुटी रिसोर्ट’का कर्मचारी देवराज अर्यालले जम्मा गरी देवेन्द्र केसीका नाममा रहेको लुम्बिनी विकास बैंकको खातामा हालिदिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

स्रोतका अनुसार द कुटी रिसोर्टमा पनि अधिकारीको सेयर छ। घुस ‘द कुटी रिसोर्ट’को ओभरड्राफ्ट र फिक्स्ड टर्म लोन कर्जा तिर्न प्रयोग गरिएको पनि अख्तियारको अनुसन्धानबाट खुलेको थियो। यसरी कर्जा देखाएर अधिकारीले घुस लिएको अख्तियारको दाबी छ।

अर्कातर्फ २०७९ असोज २७ गते श्रीकृष्ण श्रेष्ठबाट फेरि ५० लाख रुपैयाँको चेक विकासकुमार चापागाईंका नाममा अधिकारीले घुस लिएका थिए। त्यो रकम चापागाईंले लक्ष्मी बैंकको आफ्नो खातामा जम्मा गरेर घुस दिएका थिए। चापागाईंले ५० लाख रुपैयाँको अर्को चेक नरेन्द्रप्रसाद न्यौपानेका नाममा काटेर घुस दिएको अभियोगपत्रमा उल्लेख छ।

सोही रकमले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित दिव्यश्वरी आयोजनाभित्रको १६४.१४ वर्गमिटर जग्गा खरिद गरिएको थियो। अधिकारीले घुसको ७० लाख रकम विभिन्न बैंक खातामार्फत घुमाउँदै वैध बनाउन खोजेका थिए। उनले घुस रकम वैधानिक बनाउन अधिकारीले ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकमा घुमाएका थियो।

यसअघि ६० किलो सुन तस्करीमा मुछिएका उनलाई सरकारले जिम्मेवारी दिएको थियो। सुन तस्कारीको डिल गरेको भेटिएपछि २०८० भदौ ७ गतेदेखि अधिकारी जिम्मेवारीविहीन भएका थिए। तर तत्कालीन सरकारले उनलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको थियो। भदौ ७ देखि जगेडामा रहेका अधिकारीलाई २०८० फागुनमा जिम्मेवारी तोकिएको थियो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालनिकट मानिएका उनले ६० किलो सुन तस्करीका नाइके दावासँग च्याटमा उनले धेरै ठुलो कारोबारको कुरा मात्रै गरेका थिएनन्, दावाको गोदाममा भेटिएको सुन तस्करी हुने पानी तान्ने मोटरको तस्बिर र कागजातसमेत पठाएका थिए।

प्रकाशित: २ चैत्र २०८२ ०८:४९ सोमबार