समाज

कैलालीका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले सात लाख ३१ हजार रुपैयाँ घुस लिएको आरोप छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको विज्ञप्‍तिअनुसार कैलालीको चुरे गाउँपालिका–६ मा रहेको ग्वासी सामुदायिक वनको काठको बिमार्का र छोडपूर्जीका लागि यादवले सेवाग्राहीसँग घुस मागेका थिए। अख्तियारको कञ्चनपुर टोलीले उनलाई सात लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानमा यादवले उक्त रकम घुस लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सात लाख ३१ हजार बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। उनलाई कैद र जरिवाना सजायको माग गरिएको छ।

प्रकाशित: २ भाद्र २०८२ १७:०५ सोमबार