समाज

विद्युत् लाइन जडान गर्न ५० हजार घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

<br>

नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

गार्मेन्ट उद्योगमा २० के.भी. क्षमताको विद्युत् लाइन जडानमा सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका-८ स्थित वितरण केन्द्रमा कार्यरत इन्जिनियर यादवले सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडानको काममा बदनियतपूर्वक ढिलासुस्ती गरी अनावश्यक दुःख-हैरानी दिँदै घुस मागेका थिए।

सेवाग्राहीको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा यादवले घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगोबमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०८३ १७:४५ सोमबार