समाज

‘ओलीकै निर्देशनमा ठेक्का टुक्रयाइयो’

पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ६ जनाको बयान पूरा भएको छ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा पक्राउ परेका सातमध्ये ६ जनाको बयान पूरा भएको छ भने बाँकी एक जनाको बिहीबार बयान हुने र त्यसपछि थुनछेक बहस सुरु हुने छ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक आर्यालसहित ६ जनाको बयान पूरा भएको हो। उनीहरू सबैलाई न्यायिक हिरासतमा पठाइएको छ। राहदानी छपाइ प्रकरणमा अख्तियारले गत सोमबार महानिर्देशक अर्याल, निर्देशक सुनिलकुमार केसीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। १८ जनामध्ये सातजना हाल न्यायिक हिरासतमा छन्। उनीहरूविरुद्ध अख्तियारले १० अर्ब १३ करोड चार लाख ६१ हजार चार सय ७७ रुपैयाँ सरकारलाई हानि पुर्‍याई भ्रष्टाचार गरेको दाबी लिएको छ।

अख्तियारले तत्कालीन निर्देशक शत्रुधनप्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रवीन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपीन प्रसाईं, तत्कालीन शाखा अधिकृत सोमेश थापाविरुद्ध मुद्दा दायर गरिएको छ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल, तत्कालीन उपसचिव (लेखा) भेषप्रसाद भुर्तेल र तत्कालीन उपसचिव (कानुन) पुष्करराज नेपालविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

यसैगरी मुल्हबाउर आइडी सर्भिसेस र उक्त कम्पनीका मुख्य भई काम गर्ने गेरहार्ड माउरेर, पाभ्ली राकिक र नेपालका प्रतिनिधि मणीन्द्रराज मल्लविरुद्ध मुद्दा दायर गरिएको छ। भेरिडोस र उक्त कम्पनीका मुख्य भई काम गर्ने फेबिओला फेलरसिम, फ्लोरियन प्याक्विलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

यसैबिच परराष्ट्र मन्त्रालयका तत्कालीन कानुन उपसचिव पुष्करराज नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा पासपोर्टको ठेक्का दुई टुक्रा बनाएको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएका छन्।

बयानमा उनले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै चेम्बरमा परराष्ट्र मन्त्रालयका सचिवज्यूलगायत हामी सबै परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव, राहदानी विभागको टोली र प्रधानमन्त्री कार्यालयका सचिवहरू, अन्य विज्ञ बोलाएर छलफल हुँदा प्रधानमन्त्री स्वयंले पनि ल दुईवटा प्याकेजमा गर्नुहोस्, प्रतिस्पर्धी हुने गरी गर्नुहोस्, सीमित नगर्नुहोस्, पारदर्शी गर्नुहोस्, दुइटा प्याकेजमा गर्नुहोस्, त्योभन्दा सस्तो पनि पर्छ भन्ने निर्देशन दिनुभएको हो।’

बयानमा उनले विश्वमा अझै एमआरपी फेज आउट नभएको र नेपालमा राम्रोसँग चलिरहेका बेला फेजआउट गर्न आवश्यक नभएको बताएका छन्। ‘अहिलेसम्म विश्वमा एमआरपी फेज आउट भएको छैन। आइकाओबाट अहिलेसम्म फेज आउट भएको छैन। हामीकहाँ एमरापी राम्ररी चलिरहेको थियो। यो सबै सिस्टम इक्युमेन्ट चाहिँदैनथ्यो। के कति कारणले यो पासवर्डमा प्रयोग गरी यो पासवर्ड लन्च गरियो। त्यसको पछाडिको राज के हो, कसको कारणले प्रयोग गरिएको हो, खोजी गर्नुपर्छ,’ उनले भनेका छन्। पासपोर्ट ठेक्कालाई टुक्र्याएर टेन्डर लगाएको विषयमा पनि अख्तियारले छानबिन गरिरहेको छ।

प्रकाशित: ११ असार २०८३ ०९:३५ बिहीबार