समाज

तीन महिनादेखि रोकिएको 'ओभरपास' निर्माण सुरु

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको 'ओभरपास' निर्माण पुनः सुरु भएको छ।

गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो। लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त भएको छ। स्थानीय व्यवसायी डम्बर घिमिरेले भने, 'निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल भएको छ।'

सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भएको छ। गत असारमा स्थानीयले चक्काजाम पनि गरेका थिए। निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ।

कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारणमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताए। उनले भने, 'अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो।'

त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम झनै प्रभावित भएको उनको भनाइ छ। निर्माणाधीन ओभरपासको लम्बाइ पाँच सय ५० मिटर, ग्राउन्ड क्लियरेन्स छ मिटर र उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ।

सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो। हालसम्म एक सय १२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भएको छ भने १२ पुल सवारीका लागि खुलेका छन्। तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति मात्र ६७ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८२ १०:४३ आइतबार