पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको सचिवालयले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ।
नयाँ ट्रयाकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ भने यस मार्गका अन्य ५ स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम पनि साथसाथै भइरहेको जनाइएको छ।
यसअघि सरकारी टोलीले कृष्णभीरको स्थलगत निरीक्षण गरेका थिए। सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले ४ दिनसम्म द्रुत अध्ययन गरी कृष्णभीरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउने पहिलो विकल्प सुझाएका थिए।
प्रकाशित: २५ भाद्र २०८३ १४:४० बिहीबार