सीमावर्ती जिल्ला कञ्चनपुरको महाकाली नदीपारिको भूभाग दोधारा चाँदनी जोड्ने ऐतिहासिक तथा पर्यटकीयसमेत रहेको झोलुंगे पुल भत्केपछि ओहोरदोहोर पूर्ण रूपमा बन्द भएको छ। महाकाली नदीमा आएको पानीको बहावले नै नदीको एक पिल्लर भत्काएको प्राविधिकको अनुगमन टोलीले निष्कर्ष निकालेको छ। भने, यो पुलमा रहेका अन्य ३ पिल्लर पनि पानीको बहावले कमजोर बनेका छन्। यो पुल मर्मत गरेर सुचारु गर्न कम्तीमा एक वर्ष समय लाग्ने प्राविधिकले बताएका छन्।
पुल भत्केपछि क्षतिको अवस्था र कारणबारे स्थलगत अध्ययन गर्न संघ र प्रदेश सरकारले प्राविधिक टोली पठाएको थियो। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले पुलको स्थलगत अध्ययन गरेको छ।
अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप तीन पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको अधिकारीले बताएका छन्। उनका अनुसार महाकाली नदीमा आएको तीव्र बहावका कारण पिल्लरको फाउन्डेसन आसपासको माटो तथा संरचना बगाउँदा पुलको पिल्लर भत्केको हो। अन्य ३ पिल्लरमा क्षति पुगेको छ।
‘अन्य थप तीन वटा पिल्लर पनि पानीको बहावका कारण कमजोर देखिएकाले नयाँ बनाउनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने।
दोधाराचाँदनीको तर्फको प्रथम र दोस्रो पिल्लर तथा भत्केको पिल्लरको महेन्द्रनगरतर्फको पहिलो पिल्लर अर्थात् भीमदत्त नगरपालिका वडा नं. १३ तर्फबाट पाँचौँ पिल्लर गरेर ३ वटा पिल्लर कमजोर बनेको उनको भनाइ छ।
पुल मर्मतका लागि लाग्ने आवश्यक लागत, निर्माणको विधि र प्रक्रियाबारे अध्ययन गरेर निर्णय गरिने उनले बताए।
महाकाली नदीमा आएको बाढीले असोज १४ गते बिहान पिल्लर भत्काएर पुलको एक भाग नदीमा खसेपछि दोधारा चाँदनी र भीमदत्तनगरबीचको नियमित आवागमन बन्द भएको छ।
करिब साढे ९ करोड लगानीमा २०५८ सालमा निर्माण सुरु गरिएको झोलुंगे पुल नेपालकै सबैभन्दा लामो पुल बनेको थियो। महाकाली नदीपारिको भूभाग जोड्ने देशभरिमै सबैभन्दा लामो झोलुंगे पुल बनेपछि यहाँ भ्रमण गर्न र हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको थियो। सुस्तामा योभन्दा लामो पुल बनेकाले अहिले दोस्रो लामो पुल रहेको उनको भनाइ छ।
ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय पुल छिटो सुचारु गर्न सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
बुधबार बिहान ८ बजेतिर महाकाली नदीमा ऐतिहासिक र पर्यटकीय पहिचान बोकेको झोलुंगे पुलको बीचको भाग खसेपछि ओहोरदोहोर बन्द हुँदा यस प्रदेशभरिका बासिन्दालाई दुःखित तुल्याएको छ।
यो पुलबाट मोटरसाइकल तथा पैदल यात्रु ओहोरदोहोर गर्ने गरेका थिए। पुलले महाकालीपारिको बस्तीलाई महेन्द्रनगर पुग्न सहज र छिटो बनाएको थियो। पुल हेर्न विभिन्न ठाउँबाट दिनहुँ उल्लेख्य संख्यामा पर्यटक आउने गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताएका छन्। पुल भत्केको दिन महाकाली नदीमा करिब ६५ हजार क्युसेक पानी रहेको उनको भनाइ छ।
भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिल्लर भत्केर पुलको भाग भत्किएको हो।
झोलुंगे पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ। यो पुल निर्माण हुनुअघि दोधारा चाँदनीका बासिन्दा सदरमुकाम महेन्द्रनगरका साथै आफ्नै देशको भूभागमा पुग्न भारत भएर आवतजावत गर्नुपर्ने बाध्यता थियो। पुल निर्माणसँगै महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रका बासिन्दा आफ्नो देशसँग भौगोलिक रूपमा जोडिन पुगेका थिए। सदरमुकाममा ओहोरदोहोर गर्न सहज बनेको थियो।
केही वर्षअघि महाकाली नदीमा पक्की पुलसमेत निर्माण भएको छ। दोधारा चाँदनीका बासिन्दाले करिब दुई किलोमिटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्ने भएको छ।
प्रकाशित: १८ आश्विन २०८३ १८:२३ आइतबार