म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। करिब रु. आठ करोडको लागतमा धवलागिरि-३ घट्टेखोलामा विस. २०७९ देखि शुरु भएको सुविधायुक्त प्रशासकीय भवन निर्माण शुरु भएको थियो। हालसम्म ८८ प्रतिशत भौतिक प्रगति भएको भवन निर्माण कार्य सम्पन्न गरि जटि सक्दो छिटो कार्यालय सञ्चालनको तयारीमा जुटेको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताए।
हाल साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि संघीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो।
आव २०७९/८० मा प्रतिष्ठा-जुम्ली-माछापुच्छ्रे जेभीसँग रु सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता भएको थियो। निर्माण सामग्रीमा भएको मूल्य वृद्धि तथा संघीय सरकारले भुक्तानी कर तिर्नुपर्ने दायित्वको रकम आउन ढिलाइ हुँदा निर्माण प्रभावित र ढिलाई भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।
म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन बनाउने पहिलो बनेको धवलागिरिको तीनतले भवनमा २७ वटा कोठा, एक-एक वटा सभाहल र बैठक कक्ष हुनेगरी पूर्वाधार निर्माण भइरहेको छ।
धवलागिरिमा प्रशासकीय भवनसँगै वडा कार्यालय, स्वास्थ्य चौकी भवन, सामुदायिक भवनहरू निर्माणले तीव्रता पाएको छ। धवलागिरि-७ ताकममा पाँच शैया क्षमताको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ। गुर्जा, मल्कबाङ, मुना र मुदीमा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भएका छन्। लमसुङ र मराङमा यसअघि नै स्वास्थ्य चौकीको भवन निर्माण भएका थिए।
सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि धवलागिरि-२ लुलाङ, धवलागिरि-४ मुदी, धवलागिरि-६ मराङ र धवलागिरि-७ ताकममा वडा कार्यालयको नयाँ भवन निर्माण भइसकेको उपाध्यक्ष रेशम पुनमगरले बताए।
उनका अनुसार धवलागिरि-५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट सेवा प्रवाह हुँदै आएको छ। गाउँपालिकाले गुर्जामा पनि वडा कार्यालयको भवन निर्माणको योजना बनाएको उपाध्यक्ष पुनले बताए।
प्रकाशित: ५ आश्विन २०८३ ०८:५६ सोमबार
-600x400.jpg)


