बाँकेको राप्तीसोनारी गाउँपालिकामा एकै पटक १२ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम सुरु भएपछि स्थानीयमा विकासप्रति नयाँ आशा पलाएको छ।
वर्षौंदेखि कच्ची, धुलाम्मे र वर्षायाममा हिलाम्मे सडकका कारण कष्टकर जीवन बिताउँदै आएका बासिन्दा अब पक्की सडकसँगै सहज आवागमन र आर्थिक गतिविधि विस्तार हुने अपेक्षामा छन्।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सडक पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न वडामा कालोपत्र, नालीसहित स्तरोन्नति, चौडाइ विस्तार र नयाँ सडक निर्माण एकसाथ अघि बढाएको हो। वडा नं. ९ मा रिम्ना पार्कदेखि पूर्व–पश्चिम सडक निर्माण कार्य सुरु भएको छ भने माथिल्लो महादेवदेखि तल्लो महादेवासम्म नालीसहित सडक सुधार भइरहेको छ।
वडा नं. ८ मा सशस्त्र प्रहरी बलको पोस्टदेखि ओभरी राष्ट्रिय निकुञ्ज जोड्ने सडक निर्माण भइरहेको छ। यसले सुरक्षात्मक पहुँचसँगै पर्यटकीय सम्भावनालाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ। वडा नं. ३ मा नर्देव थारुको घरदेखि सन्तोष चौधरीको घरसम्म कालोपत्र तथा विभिन्न खण्डमा नाली निर्माणको काम अघि बढाइएको छ।
त्यसैगरी वडा नं. २ मा खोरिया चोकदेखि कोटही टोलसम्म दुई किलोमिटर सडक कालोपत्रे हुँदैछ भने हरिहरपुर क्षेत्रमा बस्ती विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विस्तार भइरहेको छ। वडा नं. ४ मा देउपरुवादेखि फुटलैया जोड्ने सडक कालोपत्र गर्ने कार्य अघि बढेको छ। यसैगरी वडा नं. ५ मा बिनौना चोकदेखि राप्ती पुलसम्म सडक चौडाइ विस्तार र पक्की नाली निर्माण भइरहेको छ। वडा नं. १ मा ग्याबिन वाल, बाटो मर्मत र यात्रु प्रतीक्षालय निर्माणजस्ता साना तर महत्त्वपूर्ण संरचना तयार पारिएका छन्।
सडक विस्तारले स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। किसानहरूले कृषि उत्पादन बजारसम्म छिटो पुर्याउन सकिने अपेक्षा गरेका छन् भने बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज हुने विश्वास गरिएको छ।
विद्यार्थीहरूको विद्यालय आवागमन पनि सहज हुने देखिएको छ। गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सडक विकासलाई समग्र विकासको आधार मानेर प्राथमिकतामा राखिएको बताए। उपाध्यक्ष मनिषा सिंह थारुले सडकसँगै नाली र पानी निकास प्रणालीलाई समेत व्यवस्थित बनाइँदै दिगो पूर्वाधार निर्माणमा ध्यान दिइएको जानकारी दिइन्।
स्थानीय सहभागितासहित अघि बढाइएका यी योजनाहरू सफल भए राप्तीसोनारी गाउँपालिकाको आर्थिक, सामाजिक तथा यातायात क्षेत्रमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ।
प्रकाशित: २९ चैत्र २०८२ ११:५८ आइतबार