समाज

बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकका लागि ‘न्यानो कपडा अभियान’ र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने भएको छ। 

कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए। 

बैठकमा गत भदौ १० गते गएको आकस्मिक बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह तथा पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो। 

बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढी प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको छ। त्यसपछि पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने पहलकदमी निर्धारण गरिने कांग्रेसले जनाएको छ। त्यस्तै, प्रभावित परिवारलाई लक्षित गरी न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गरिने भएको छ। 

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको उल्लेख गर्दै कांग्रेसले प्रभावितको जीवन सहज बनाउने, पुनःस्थापना सुनिश्चित गर्ने र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ। 

प्रकाशित: २० कार्तिक २०८३ १७:०१ शुक्रबार