जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले यहाँका उत्तरी क्षेत्रमा रहेका हिमतालहरूको प्राविधिक रूपले अध्ययन तथा अनुसन्धान गरिनुपर्ने खाँचो औंंल्याएको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको अध्यक्षतामा बसेको बैठकले फक्तालुङ, मिक्वाखोला र सिरिजङ्गा गाउँपालिकामा हिमतालहरू रहेको हिमताल तथा हिमश्रृंखलाबारे विस्तृत अध्ययन तथा अनुसन्धान गरी जोखिमयुक्त र जोखिमरहितको पहिचान गर्न जरुरी रहेको निष्कर्ष निकालेको छ।
बैठकले हिमताल तथा हिमश्रृंखलाबारे विस्तृत अध्ययन तथा अनुसन्धान र आवश्यक व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयमा सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिए।
बैठकले मनसुनजन्य विपद्का कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा खुल्ला तथा जोखिममुक्त स्थानहरूको पहिचान गरी विवरणहरू अद्यावधिक राख्ने निर्णय समेत गरेको छ। स्थानीय तहमा रहेका सामुदायिक भवनहरूलाई तत्काल सदुपयोग गर्नसक्ने गरी तयारी हालतमा राख्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकले सबै स्थानीय तह, सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरूले साताको एकपटक ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’अभियान चलाउने समेत निर्णय गरेको सहायक प्रजिअ भट्टराईले जानकारी दिए। सम्भावित बाढी र पहिरोसहितका विपद्का घटनाहरू हुनसक्ने भएकोले स्थानीय तह लगायत सम्वन्धित निकायले विपद् प्रतिकार्यमा आवश्यक पर्ने सामग्रीहरू तयारी हालतमा राख्ने तथा गर्मीयाममा विभिन्न प्रकारका पानीजन्य रोगहरू फैलनसक्ने हुँदा ति रोगहरू नियन्त्रणका लागि आवश्यक पर्ने प्राथमिक उपचारका सामग्री जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखामार्फत व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकले २०८३/८४ का लागि उपकरणसहितको तत्काल प्रतिकार्य टोली परिचालन योजना समेत पारित गरेको सहायक प्रजिअ भट्टराईले जानकारी दिए।
प्रकाशित: १८ भाद्र २०८३ १३:५७ बिहीबार

-600x400.jpg)

-600x400.jpg)