चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ।
त्यहाँस्थित फ्राइन्डस रेष्ट्रोले रु १५० मा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई रु १०० मा खुवाउन सुरु गरेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिए।
एउटा मात्र सिलिन्डर भएकालाई खाली भएपछि भर्न नपाएसम्म समस्या भएको भन्दै उनले त्यस्ता नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधान होस् भनेर सहुलियतमा खाना खुवाउन थालिएको उनले बताए।
अत्यावश्यक भएकालाई वडामा नाम टिपाउन भनिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासनले क्लष्टर बेसमा दैनिक ग्यास बिक्री गर्न लगाएको बताए। दैनिक आठ हजार हाराहारी ग्यास समूह बेसमा बिक्री गरिएको छ।
प्रशासनमा टोल फ्री नम्बरमा फोन गरेर ९९८ जनाले ग्यास लगिसकेका छन् भने क्लष्टर आउँदो शुक्रबार केन्द्रीय बसपार्कबाट समेत ग्यास बिक्री गर्न लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
प्रकाशित: २७ श्रावण २०८३ १३:४४ बुधबार