सामुदायिक वन समन्वय समिति (सिएफसिसी)को समन्वयमा यहाँ सप्ताहव्यापी वृक्षरोपण अभियान सुरु भएको छ।
अभियान अन्तर्गत सिएफसिसी आबद्ध ९४ सामुदायिक वन उपभोक्ता समूहले ५० हजार बिरुवा रोप्ने लक्ष्य छ। निजी वन प्रवद्र्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए।
“चरिचरन र डढेलो नियन्त्रण गर्नसके वन क्षेत्रबाट पुनःउत्पादन हुन सक्छ। वन नभएका क्षेत्रमा मात्र वृक्षरोपण आवश्यक हुन्छ, वनमा निर्भरता घटाउन निजी वन विकासमा जोड दिनुपर्छ।”
वृक्षरोपणले वन्यजन्तुको जैविक करिडोर संरक्षणमा मद्दत पुग्ने बताउँदै उनले भने।
समन्वय समितिले सामुदायिक वन उपभोक्तालाई फलफूल, घर सजावट र औषधिजन्य बिरुवा निःशुल्क वितरण गर्दै आएको छ। समितिका उपाध्यक्ष नरेशराज जोशीले वृक्षरोपणबाट वातावरण संरक्षण, माटो तथा जलस्रोत संरक्षण र जैविक विविधता प्रवद्र्धनमा सघाउ पुग्ने बताए।
उनले भने, “घरघरमा रोपिने फलफूल र औषधिजन्य बिरुवाले उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने भएकाले अभियानका क्रममा निःशुल्क बिरुवा उपलब्ध गराइरहेका छौँ।”
झिलमिली सामुदायिक वनमा सात हजार विभिन्न प्रजातिका बिरुवा रोपिएका उनले बताए ।गत वर्ष सञ्चालन भएको सप्ताहव्यापी अभियानमा ४० हजार बिरुवा रोपिएका थिए । समन्वय समितिले आफ्नै नर्सरीमा उत्पादन गरिएका बिरुवा प्रयोग गरी हरेक वर्ष वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रकाशित: २ श्रावण २०८२ ११:१४ शुक्रबार