त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले प्राविधिकको सुझावअनुसार काम गर्न सरकारलाई आग्रह गरेका छन्।
उद्धार कार्यमा ढिलाइ भइरहेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उनले यस्तो आग्रह गरेका हुन्। प्राविधिक मगरले उद्धारमा उनले प्राविधिकको आवश्यकता भए उनीहरूले भनेअनुसार काम गर्नुपर्ने र त्यसो गर्न नसक्ने भए प्राविधिकलाई नबोलाउनसमेत आग्रह गरे।
'हेलो माननीय ज्यूहरू मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस् यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार उद्धार कार्यमा लागेको ६ दिन बितिसक्दा पनि सुरुङभित्र प्रवेश गर्न आवश्यक ‘एक्सेस’ निर्माण हुन सकेको छैन। उनले यसका लागि अत्याधुनिक वा विशाल प्रविधि आवश्यक नरहेको दाबी गर्दै पहिलो दिनदेखि नै तीन–चार वटा एक्स्काभेटर र एउटा ब्रेकर उपलब्ध भएको भए उद्धार कार्य सम्पन्न भइसक्ने बताएका छन्।
‘तीनवटा एक्स्काभेटर दिनरात चल्यो भनेर समाचारमा आयो, तर फिल्डमा एउटा मात्र चल्यो,’ मगरले गुनासो गरेका छन्।
उनले उद्धारमा भइरहेको ढिलाइले सुरुङभित्र फसेका प्राविधिकका परिवारमा थप पीडा र चिन्ता बढिरहेको बताएका छन्। उद्धारका लागि आवश्यक उपकरण तत्काल घटनास्थलमा उपलब्ध गराई उद्धार कार्यलाई सहजीकरण गर्न उनले सरकारसँग आग्रह गरेका छन्।
‘कृपया योभन्दा ढिला नगरिदिनुस्। जे–जे आवश्यक छ, ती सामान साइडमा उपलब्ध गराइदिनुस् र उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्,’ मगरले भने।
उनले जतिसक्दो छिटो उद्धार कार्य सम्पन्न गरी घरमा आफन्तको प्रतीक्षामा रहेका परिवारलाई ढुक्क बनाउन सरकारसँग अपिल गरेका छन्।
यस्तो छ उनको स्टाटस:
हेलो माननीय ज्यूहरू मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस् यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस्। आफ्नो तरिकाले काम गर्नुस्। जुन अहिले यो तस्बिर देखिरहनु भएको छ यो चाहिँ त्रिशुली थ्रिएको तस्बिर हो। जहाँ चाहिँ हामीजस्तै प्राविधिकहरु टनेल भित्र थुनिरहनुभएको छ। आजसम्म हामी उद्धार कार्यमा लागेको छ दिन बितिसक्यो। अहिलेसम्म कुनै पनि टनेल भित्र जानलाई एक्सिससम्म बनाउन सकियको छैन। मलाई लाग्छ यो कामको लागि कुनै पनि विशाल प्रविधि हामीलाई चाहिँदैन थियो। यहाँ यदि हामीलाई पहिलो दिनबाट नै तीन चारवटा excavator र एउटा ब्रेकर भइदिएको भए हामी अहिलेसम्म उद्धार गर्न सफल भइसकेको हुन्थ्यौ ।
तीनवटा excavator दिनरात चल्यो तर न्युजमा मात्र चल्यो। फिल्डमा एउटा मात्र चल्यो l
सायद यो जस्तो दुःखको कुरा हाम्रो लागि के होला?
कृपया योभन्दा ढिला नगरिदिनुस्। जे जे आवश्यक छ त्यो सामानहरु प्लिज प्लिज प्लिज साइडमा उपलब्ध गराइदिनुस् र यो उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्। जति सक्दो उदार कार्य सम्पन्न गरेर घरमा कुरिरहनु भयको आफन्तिलाइ ढुक्क बनाइदिनुहोस सरकार।
धन्यवाद।
प्रकाशित: १६ भाद्र २०८३ ०७:१८ मंगलबार