नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्ट ३६ वर्ष पुगेको पाइएको छ। भट्ट कांग्रेसको १५ औं महाधिवेशनमा ३५ वर्षमुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
भट्टको २०४८ असोज १३ गते लमजुङमा जन्म भएको थियो। जन्म मितिले ३५ वर्ष पुगे पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको दिनसम्ममा उनी ३६ वर्ष पुगेका थिए।
भट्टले केन्द्रीय सदस्यमा असोज २० गते उम्मेदवारी दर्ता गराएका थिए। उनी उम्मेदवारी दर्ता गराउँदासम्म ७ दिनले ३६ वर्ष पुगेको पाइएको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन काठमाडौंको खुला मञ्चमा असोज १६ देखि सुरु भएको थियो। असोज २१ र २२ गते केन्द्रीय कार्यसमितिका लागि निर्वाचन भएको थियो।
भट्ट क्षेत्रीय प्रतिनिधिमा ३५ वर्षमुनिको नभइ खुल्लाबाट निर्वाचितसमेत भएका थिए। उनी महाधिवेशनमा सहभागी हुनका लागि ३५ वर्षमुनिबाट निर्वाचित हुनुपर्ने थियो।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधनसहित), परिच्छेद ७ अन्तर्गत केन्द्रीय कार्यसमिति तथा केन्द्रीय कार्यसम्पादन समितिसम्बन्धी धारा २१ को उपधारा (१०) मा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था उल्लेख छ।
३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना तथा खुलातर्फ सात जना गरी कुल २१ जना सदस्य रहने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिमा समेत भट्टविरुद्ध उजुरी परेको छ। ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी विवरण आधिकारिक नागरिकता तथा अन्य प्रामाणिक कागजातका आधारमा छानबिन गर्न उजुरीमा माग गरिएको छ।
प्रत्येक उम्मेदवारको उमेर मनोनयन दर्ता गर्दाको मितिलाई आधार मानी विधानमा तोकिएको उमेरसम्बन्धी योग्यता पूरा भए/नभएको यकिन गर्नुपर्ने उजुरीमा उल्लेख छ।
सुशील भट्टको हकमा मनोनयन दर्ताको मितिमै ३५ वर्ष उमेर कटिसकेको तथ्य पुष्टि भएको उजुरीमा बताइएको छ। नागरिकतामा उल्लेखीत उमेरलाई आधार मानी तत्काल छानबिन अघि बढाउन मा गरिएको छ।
३५ वर्षमुनिका क्लस्टरबाट निर्वाचित अन्य सदस्यहरूको उमेर तथा उम्मेदवारीको वैधानिकता पनि निष्पक्ष र प्रमाणमा आधारित ढङ्गले परीक्षण गर्नुपर्ने उजुरीमा बताइएको छ।
उजुरीमा निर्धारित उमेरसीमा पूरा नगरेको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको उम्मेदवारी तथा निर्वाचनको वैधानिकता पुनरावलोकन गरी विधान र प्रचलित निर्वाचन नियमावली बमोजिम उक्त उमेदवारको निर्वाचन परिणाम बदर गरी अन्य आवश्यक कारबाही गर्नुपर्ने बताइएको छ।
त्यसैगरी, केन्द्रीय सदस्य भट्टको उमेरबारे प्रश्न गर्दा १५ औं महाधिवेशनको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले असोज ३ गतेसम्म ३५ वर्ष रहेको बताए। केन्द्रीय सदस्यको उम्मेदवारी गराउँदासम्म उनी ३६ वर्ष पुगेको उनको भनाइ छ।
'नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया सुरु भएको समयलाई आधार मान्यो,’ कटुवालले भने। उनका अनुसार दर्ता भएको समयमा उम्मेदवारको उमेरलाई ख्याल नगरिएको उनको भनाइ छ।
यस्तो छ उजुरी:
प्रकाशित: १२ कार्तिक २०८३ ११:०९ बिहीबार