समाज

गिद्ध संरक्षणमा समुदायको सहभागिता आवश्यक, सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड

कपिलवस्तुमा गिद्ध संरक्षणका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। प्राकृतिक सफाइकर्मीका रूपमा चिनिने गिद्धको संरक्षणका लागि विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने र यसको जीवन जोगाउन किसानसहित स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ।

नेपाल पक्षी संरक्षण संघ काठमाडौंको आयोजना, नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनको सहआयोजना तथा तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहको समन्वयमा बुद्धभूमि नगरपालिका–१० चेचरेमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा गिद्ध संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिइयो।

गत फागुन ७ गते सोही वडाको मोतिनगर गाउँमा विषादीयुक्त सिनो खाँदा ७ डाँगर र २ हिमाली गिद्ध मरेपछि यस विषयमा चासो बढेको हो। नेपाल सरकारले २०६३ जेठ १३ गतेदेखि डाइक्लोफेनेक विषादीको बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाए पनि केही स्थानमा अझै प्रयोग भइरहेको पाइएको छ। स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठका अनुसार यसले गिद्धको अस्तित्वमा गम्भीर खतरा उत्पन्न गरिरहेको छ।

विशेषज्ञहरूका अनुसार डाइक्लोफेनेकजस्ता विषादी र मानव गतिविधिका कारण गिद्धको जीवन जोखिममा परेको छ। पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुकई चौधरीले किसान र समुदाय सबैभन्दा सचेत हुनुपर्ने बताए। उनले विषादीको प्रयोग, विद्युत् प्रसारण लाइन, जलवायु परिवर्तन र रोगका कारण गिद्ध संकटमा परेको उल्लेख गरे।

हाल जिल्लामा प्रतिबन्धित औषधिको प्रयोग करिब ९५ प्रतिशत नियन्त्रणमा आएको दाबी गरिए पनि अझै पूर्ण नियन्त्रण हुन नसकेको बताइएको छ। गिद्ध संरक्षण दीर्घकालीन बनाउन सरकारी निकाय, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

गिद्धले वातावरणीय सन्तुलन कायम गर्न, सार्वजनिक स्वास्थ्य जोगाउन तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले यसको संरक्षणमा सबै पक्षको संयुक्त प्रयास अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।

प्रकाशित: १६ चैत्र २०८२ १९:३० सोमबार