भोटेकोसी र त्रिशूलीमा आएको बाढीले हिमाल र पहाडमा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दुरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ।
‘पहाडमा जाडो भए, तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ...।’ दिनेश अधिकारीको शब्द र स्वरूपराज आचार्यको स्वर रहेको यो गीतले पनि भूगोल फरकफरक भए पनि विपत्तिको पीडा एउटै हुन्छ, पीडा भुलाउन एकअर्काले सहयोगका हात अगाडि बढाउनुपर्छ। भोटेकोसी र त्रिशूलीको बाढीबाट प्रभावित परिवारको साथमा अहिले देशका अन्य भूगोलका मानिस उभिएका छन्। यो दुःख अब रसुवा, नुवाकोट, धादिङको मात्र रहेन। यो सिंगो नेपालको साझा दुःख बनेको छ।
सरकारले उद्धार तथा राहतका लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली जोखिम मोलेर उद्धारमा खटिएका छन्। घाइतेको उपचार, बेपत्ताको खोजी र विस्थापितको पुनर्स्थापनाका लागि तीन वटै तहका सरकारी संयन्त्र सक्रिय छन्। तर विपत्तिको आकार ठुलो भएकाले सरकारी संयन्त्रसँगै नागरिक स्तरबाट पनि सहयोग अभियान चलाइएका छन्। नागरिक स्तरबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने क्रम बढेको छ। संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, बैंक, सहकारीलगायतका वित्तीय संस्था, समुदायसँगै व्यक्ति–व्यक्ति बाढीपीडित लागि सहयोगका पक्षमा उभिएका छन्। कतै संस्थागत रूपमा लाखौं–करोडौं रुपैयाँ सहयोग घोषणा भइरहेको छ भने कतै नागरिक तहबाट।
कसैले धेरै त कसैले थोरै रकम सहयोग गरेका छन्। रकमको आकारभन्दा पनि ठुलो कुरा पीडितका पक्षमा भावनात्मक रूपमा उभिनु हो नेपालगन्ज नागरिक समाजका अगुवा ललितकुमार रौनियार विपत्तिको समयमा नागरिकको परिचय भूगोल वा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताउँछन्। संकटमा परेका मानिस कुन जिल्लाका हुन्, कुन समुदायको हुन् वा कुन भूगोलमा भन्ने प्रश्नभन्दा उनीहरू नेपाली हुन भन्ने भावनाले सहयोग गर्नुपर्ने उनको धारणा छ। उनका अनुसार विपत्तिले समाजलाई भावनात्मक रूपमा जोड्ने अवसर पनि दिन्छ। एक ठाउँमा परेको विपत्तिमा अर्को ठाउँका मानिसको मन दुख्न सके राष्ट्रिय एकता पनि बलियो हुने उनको बुझाइ छ। पीडित परिवारलाई राहत सामग्री वा आर्थिक सहयोगसँगै ‘तिमी एक्लो छैनौँ’ भन्ने अनुभूति दिलाउन सक्नु ठुलो मानवीय सहयोग हो।
नेपालगन्जका शैक्षिक अभियन्ता कृष्ण जिसीले पनि विपत्तिमा देखिएको नागरिक ऐक्यबद्धतालाई सामाजिक शक्ति मान्छन्। उनका अनुसार राज्यले उद्धार र राहतको नेतृत्व गर्नुपर्छ तर संकटको घडीमा नागरिकको स्वतःस्फूर्त सहभागिताले सरकारको प्रयासलाई थप प्रभावकारी बनाउन सक्छ। सानो सहयोग पनि पीडित परिवारका लागि ठुलो भरोसा बन्न सक्ने भएकाले विपत्तिमा सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको धारणा छ।
अहिले यही भावना देशका विभिन्न ठाउँमा देखिएको छ। काठमाडौंमा बस्नेले पनि रसुवाका लागि सहयोग गरिरहेका छन्। बुटवलमा बस्नेले पनि राहत संकलन गरिरहेका छन्। नेपालगन्ज र कोहलपुरमा त राहत जुटाउन नागरिक अभियान चलिरहेका छन्। सुदूरपश्चिमका नागरिकले पनि आफ्नो क्षमताअनुसार राहत कोषमा रकम जम्मा गरिरहेका छन्। पूर्वका विभिन्न जिल्लामा पनि सहयोग अभियान सुरु भएका छन्। कसैले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरिरहेका छन् त कसैले घरघर र समुदायमा पुगेर राहत संकलन गरिरहेका छन्। कसैले कर्मचारीमार्फत त कसैले विद्यार्थीमार्फत सहयोग जुटाइरहेका छन्। कसैले घाइतेका लागि रक्तदान गरिरहेका छन् त कसैले उद्धारकर्मी र स्वयंसेवकका लागि आवश्यक सामग्री उपलब्ध गराइरहेका छन्। यी सबै प्रयासको उद्देश्य विपत्तिमा परेकालाई एक्लो महसुस हुन नदिनु हो।
विपत्तिमा विभिन्न सामान, नगद पैसा, स्वास्थ्य उपचार सेवालगायतको आवश्यकता हुन्छ। योभन्दा पनि ठुलो आवश्यकता आशाको हुन्छ। आफन्त सम्पर्कमा नआएर छटपटाइरहेका परिवारका लागि देशका विभिन्न ठाउँबाट हुने सहयोगले ठुलो अर्थ राख्छ। घर बाढीले बगाएपछि विस्थापित परिवारलाई टाढाको कुनै अपरिचितले दिएको सहयोगले ‘देशमा अझै सहयोगी मन छन्, हामी एक्लै छैनौँ’ भन्ने भरोसा दिलाउँछ। यही भरोसाले संकटबाट उठ्न शक्ति दिन्छ। नेपाल भौगोलिक रूपमा विविध छ। हिमाल, पहाड र तराईका जीवनशैली फरकफरक छन्। भाषा, संस्कृति र रहनसहनमा विविधता छ। राजनीतिक विचारमा मतभिन्नता छ। तर प्राकृतिक विपत्तिको पीडा सबैका लागि एउटै हुन्छ।
पहाडमा घर बग्दा पीडा पहाडको मात्रै हुँदैन। तराईमा बाढी पस्दा दुःख तराईको मात्रै हुँदैन। पूर्वमा पहिरो जाँदा पश्चिमले चुप लागेर बस्नु हुँदैन। पश्चिममा संकट आउँदा पूर्वले आफ्नो दायित्व बिर्सनु हुँदैन। यही भावनाले नै देशलाई देश बनाउँछ। गीतले पनि भन्छ, ‘बाँडिचूँडी खाउ भन्छ, फाटे मन सिउ भन्छ।’ बाढीले भत्काएका सडक, पुल र संरचना राज्यले पुनर्निर्माण गर्ला, घरबार गुमाएकाका लागि सरकारले राहत र पुन:स्थापनाका कार्यक्रम ल्याउला, विद्युत्, सञ्चार र यातायात सेवा विस्तारै सामान्य बन्लान् तर विपत्तिले मनमा बनाएको घाउ तत्काल निको हुँदैन। मनको घाउ निको पार्न समाजको साथ आवश्यक हुन्छ। सहयोग अभियानलाई रकमको हिसाबले मात्रै हेर्नु गलत हुन्छ। प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकमसँग नागरिकको भावना जोडिएको छ।
सबैभन्दा ठुलो कुरा अर्काको दुःखलाई आफ्नो दुःख ठान्नु हो। भोटेकोसी र त्रिशूलीको बाढीले नेपाली समाजलाई यही पाठ पढाइरहेको सुर्खेत नागरिक समाजका अगुवा सुरेश केसीले बताए। ‘हामी हिमाल, पहाड र तराईमा बाँडिएका छौँ तर हाम्रो पीडा एउटै छ। हामी प्रदेशमा विभाजित छौँ तर हाम्रो संवेदना विभाजित छैन,’ उनले भने, ‘हामी फरकफरक राजनीतिक विचार राख्न सक्छौँ तर विपत्तिमा परेका नागरिकलाई उठाउनुभन्दा ठुलो कुनै विचार हुन सक्दैन। त्यसैले अहिले उत्तरतर्फको हिमाली भूगोल रोइरहँदा दक्षिणका हातहरू अघि बढिरहेका छन्। पहाडको दुःखमा तराईले साथ दिइरहेको छ। पूर्व र पश्चिम एकअर्काको पीडामा उभिएका छन्।’
प्रकाशित: २३ भाद्र २०८३ ०८:५७ मंगलबार