समाज

खोटाङमा विद्यालय भवन नबनाई २४ लाख ‘झ्वाम’, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माण नै नगरी कागजपत्र मिलाएर २४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू, इन्जिनियर, लेखापाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेमा भवन निर्माणको रकम हिनामिना भएको उजुरीमाथि अनुसन्धान गर्दा अख्तियारले उक्त भ्रष्टाचारको तथ्य फेला पारेको हो।

उनीहरूमाथि नभएको कामलाई भएको भनी झुट्टा प्राविधिक मूल्याङ्कन र बिल भरपाई बनाएर सरकारी रकम निकासा गरी भ्रष्टाचार गरेको आरोप छ।

अख्तियारका अनुसार, आर्थिक वर्ष २०७१/७२ मा उक्त विद्यालयमा चारकोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख रुपैयाँ र २५ प्रतिशत जनश्रमदानसहित कुल ३० लाख रुपैयाँको लागतमा सम्झौता भएको थियो।

तर, अख्तियारको स्थलगत अनुसन्धान तथा प्राविधिक प्रतिवेदनले फिल्डमा जम्मा २ लाख ७२ हजार ३२८ रुपैयाँ बराबरको मात्र काम भएको देखाएको छ।

काम अत्यन्तै न्यून भए पनि मिलेमतोमा झुट्टा र गलत प्रगति विवरण तयार पारी पटक-पटक गरी जिल्ला शिक्षा कार्यालयबाट २४ लाख रुपैयाँ नै निकासा गराइएको थियो।

‘भवन निर्माणको काम नै नभएको अवस्थामा समेत राष्ट्रसेवक तथा संलग्न अन्य व्यक्तिहरूको आपसी मिलेमतोमा आफूहरूलाई लाभ र नेपाल सरकार तथा विद्यालयलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले झुट्टा कागजात पेस गरी/गराई भुक्तानी दिएको/दिलाएको तथ्य स्थापित भएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू डा. गणेश प्रसाद भट्टराई (१० लाख बिगो), केशव प्रसाद दाहाल (१४ लाख बिगो) र ज्ञानमणि नेपाल (१४ लाख बिगो) विरुद्ध मुद्दा दायर गरेको छ।

त्यसैगरी, जिल्ला शिक्षा कार्यालयकै तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य (१० लाख बिगो), लेखापाल सुरेश कुमार श्रेष्ठ (२४ लाख बिगो) र सब-इन्जिनियर शिवराज राई (२४ लाख बिगो) विरुद्ध पनि आरोपपत्र दायर भएको छ।

सब-इन्जिनियर राईलाई गलत कार्यसम्पन्न प्रतिवेदन बनाएकोमा थप कारबाहीको माग गरिएको छ।

यता, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू पृथ्वी दाहाल (८ लाख बिगो) र शेष कुमार पौड्याल (८ लाख बिगो र थप ५ लाख १२० रुपैयाँ हिनामिना) तथा तत्कालीन प्रधानाध्यापकहरू राजेन्द्र प्रसाद दाहाल (८ लाख बिगो), ऋषिराम पोखरेल (८ लाख बिगो) र नयन कुमार राई (५ लाख १२० रुपैयाँ हिनामिना) लाई पनि प्रतिवादी बनाइएको छ।

विद्यालयकी तत्कालीन लेखापाल सीता कार्की (१६ लाख बिगो र थप ५ लाख १२० रुपैयाँ हिनामिना) र भवन निर्माणको जिम्मेवारी पाएका अर्जुन तामाङ (१६ लाख बिगो) लाई पनि मतियारको कसुरमा मुद्दा दायर गरिएको छ।

अख्तियारले सबै प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना, कैद सजाय र बिगो असुलउपर गर्न मागदाबी गरेको छ।

प्रकाशित: १५ भाद्र २०८२ १७:०५ आइतबार