सिन्धुलीका नदी किनारमा रहेका दर्जनौँ बस्ती बाढी र नदी कटानको उच्च जोखिममा छन्।
बिपी राजमार्ग तथा मध्य पहाडी लोकमार्ग आसपासका नदी किनारमा सडक, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए पनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा परेको हो।
सुनकोसी नदीसँग जोडिएका नेपालथोक, मुलकोट, खुर्कोट, ग्वालटार हुँदै घुर्मीसम्मका बस्ती वर्षायाममा बाढी र नदी कटानको जोखिममा पर्ने गरेका छन्। नदीको बहाव बढ्दा किनारका घर, सडक, होटल तथा व्यापारिक संरचनामा क्षति पुग्ने गरेको स्थानीय बताउँछन्।
दुई वर्षअघि असोजमा रोशी खोलामा आएको ठुलो बाढीका कारण सुनकोसी नदीमा पानीको बहाव बढ्दा नेपालथोक, मुलकोट, खुर्कोट र देउरालीलगायतका क्षेत्रमा डुबान तथा कटान भएको थियो।
बाढीका कारण सडक, घर तथा व्यापारिक संरचनामा क्षति पुगेको थियो भने मन्थली खुर्कोट सडकखण्डलाई जोड्ने सुनकोसी नदीमाथिको खुर्कोटको पक्की पुल र नेपालथोकबाट खाँडादेवी तर्फ जाने पक्की पुल समेत बगाएको थियो।
त्यसयता पनि जोखिम कायमै रहेकाले स्थानीयमा त्रास हट्न सकेको छैन। खुर्कोटस्थित सुनकोसी नदीको नजिकै घर भएर चिया पसल गर्दै आएकी ७२ बर्षिया सरिता नगरकोटी बाढीको सधैँ त्रास हुने गरेको बताउँछिन्। दुई वर्ष अगाडी बाढी आएको थियो त्यसयता सुनकोसीमा पानी बढ्ने बित्तिकै डर लाग्छ तर जाने अरू ठाउँ छैन उनले भनिन्, ‘चालिस वर्षदेखि यही बसेको छु।’ उनले सरकारले सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था मिलाइदिनु पर्ने बताइन्।
बाढी गएको दुई वर्ष बितिसक्दा पनि मुलकोट र खुर्कोटका प्रभावित स्थानीय पुरानै स्थानमा बसोबास तथा व्यापार गर्दै आएका छन्। जोखिमबारे जानकारी हुँदाहुँदै पनि सुरक्षित स्थानको अभाव, जीविकोपार्जनको समस्या तथा पर्याप्त सरकारी पहल नहुँदा स्थानान्तरण हुन नसकेको उनीहरूको भनाइ छ।
स्थानीय शरद आचार्यका अनुसार नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई जोखिम थाहा भए पनि तत्काल सुरक्षित स्थानमा सर्न सक्ने अवस्था छैन। ‘विपद्लाई न्युनिकरण गर्न सकिन्छ नियन्त्रण गर्न सकिँदैन,’ आचार्यले नागरिकसँग भने, ‘सरकारले बस्तीयोग्य जमिन खानीयोग्य जमिन कृषियोग्य जमिन भनेर वर्गीकरण गरी वर्गीकरण अनुसार नयाँ र सुरक्षित बस्ती बसाउनु पर्छ।’ भइपरि आउने विपद्लाई साइरन जडित उपकरणहरू सक्रिय राख्नुपर्ने आचार्यको भनाइ छ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना पुर्याउने र आपत्कालीन अवस्थामा कहाँ जाने भन्ने स्पष्ट व्यवस्था आवश्यक रहेको स्थानीयको भनाइ छ। स्थानीय केशव देवकोटाले नदी किनारमा सडक तथा अन्य संरचना निर्माण गर्दा जोखिमको दीर्घकालीन मूल्यांकन गर्नुपर्ने बताए।
नदीको प्राकृतिक बहावलाई असर पर्ने गरी संरचना निर्माण गर्दा भविष्यमा बाढी तथा कटानको जोखिम अझ बढ्न सक्छ र नदी तटीय क्षेत्र जुनसुकै समयमा बगाउन सक्ने भएकाले स्थानीय स्वयम्ले जोखिमयुक्त क्षेत्रमा बस्न नहुने उनको भनाइ छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, अत्यधिक वर्षा तथा आकस्मिक बाढीजस्ता घटना बढ्दै जाँदा त्यसको असर तल्लो तटीय क्षेत्रमा समेत पर्ने जोखिम रहेको स्थानीयको भनाइ छ।
यसले सुनकोसी तथा अन्य नदी किनारका बस्तीमा थप चुनौती निम्त्याउन सक्ने देखिन्छ। वर्षेनी बाढीको जोखिम दोहोरिँदै गए पनि विपद् आएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुनेभन्दा जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाउनुपर्ने स्थानीयको माग छ।
प्रकाशित: २१ भाद्र २०८३ १४:०३ आइतबार



