करिब चार हजार मिटर उचाइमा अवस्थित खुमजुङ हिजोजस्तो आज छैन। सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको यो गाउँमा जलवायु परिवर्तनले पारेका प्रभाव प्रत्यक्ष देखिन थालेका छन्। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्छ यो गाउँ। नाम्चेबजारदेखि केही किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाले पछिल्ला दुई दशकमा देखेका जलवायु परिवर्तनका असरबारे चर्चा गरेका छन्।
खुम्जुङ महिला समूहकी अध्यक्ष ४१ वर्षीया किनजुम शेर्पासँग २० वर्षअघिसम्म पुस–माघको हिउँदे याममा घरअगाडि पर्ने बाक्लो हिउँ फाल्दा जिउ दुख्ने गरेको अनुभव छ। ‘अहिले हिउँ होइन, झिंगा आउँछन्, मसिना भुसुना आउँछन्। हिउँ अहिले पनि पर्छ तर फरक समयमा,’ उनी भन्छिन्, ‘अहिले चैततिर मात्र हिउँ पर्छ। जुन समय खेतीपाती र पर्यटनको हो।’
२५ वर्षअघि खुम्जुङमा बिहे गरेर आएकी किनजुम उचित समयमा पर्ने हिउँले मात्र जमिन भिज्ने र खेतीपातीमा समेत सहायता पुग्ने बताउँछिन्। ‘चैतमा हिउँ पर्दा खेतीपातीमा टुसा नआउने र टुसा पलाए पनि मर्छ,’ उनले भनिन्।
उनले अनुभव गरेझैं यो क्षेत्रमा जलवायु परिवर्तनका कारण सरदर तापमानमा वृद्धि भएको वैज्ञानिक अध्ययनले समेत पुष्टि गरेका छन्। त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार हाम्रा हिमालय क्षेत्रमा उचाइअनुसार तापक्रम वृद्धिको प्रवृत्ति बढ्दो क्रममा छ।
‘खुम्बु क्षेत्र र खुम्जुङवरिपरिका मौसम मापन केन्द्रहरूका आधारमा तापक्रम वृद्धि सबैभन्दा मुख्य र महत्त्वपूर्ण रूपमा मनसुन अवधिमा भएको देखिन्छ। औसतमा खुम्बु क्षेत्रमा तापक्रम प्रत्येक वर्ष ०.०४४ डिग्री सेल्सियसले बढेको छ र वर्षा प्रत्येक वर्ष करिब नौ मिलिमिटरले घटेको पाइएको छ,’ विभिन्न अध्ययन प्रतिवेदनका अंश उद्धृत गर्दै ठकुरी भन्छन्।
समग्र नेपालमा प्रत्येक वर्ष ०.०३४ डिग्री सेल्सियसले सरदर तापक्रम बढ्ने गरेको छ। यो हिसाबले हिमाली क्षेत्रको तापमान वृद्धि सरदरभन्दा बढी देखिन्छ। तापमानमा भएको यही बढोत्तरी र मौसमी अनिश्चतताले खुमजुङको कृषि उत्पादनसमेत प्रभावित बन्दै गएको देखिएको छ।
‘पहिले मेरो दुई रोपनी बारीमा ६० भारी आलु हुने गरेकोमा पछिल्लो वर्ष यो आधाले घटेको छ,’ खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ की वडा सदस्य निमा याङजिन शेर्पाले भनिन्।
खुम्जुङ गाउँमै जन्मेकी उनका अनुसार समयमा हिउँ नपर्नु, कुवालगायत पानीका स्रोतहरू सुक्दै जानु र समग्र मौसमी चक्र परिवर्तन हुँदा खेतीपाती प्रभावित भएको छ।
उनी आफ्नो नियन्त्रणभन्दा बाहिरका यी मौसमी घटनालाई जलवायु परिवर्तनका कारणले भएको हुन सक्ने बताउँछिन्। ‘प्रकृति हाम्रो जीवन हो र यसैमा हामी आधारित छौं। यस्ता विषयमा कसैले पनि खेलबाड गर्न मिल्दैन। हामीले बदलिएको जलवायु परिवर्तनसँगै आएका संकटसँग जुध्न सेवासुविधा पाउनुपर्छ, न्याय पाउनुपर्छ, जलवायु परिवर्तन संकट गम्भीर बन्दै छ,’ वडा सदस्य शेर्पाले भनिन्।
‘साथसाथै’ नामक गैरसरकारी संस्था र खुम्बु पासाङल्हामु गाउँपालिकाले गत साता खुमजुङमा आयोजना गरेको जलवायु सम्मेलनलाई सम्बोधन गर्दै हिमनदी तथा जलवायुपरिवर्तन विज्ञ अरुणभक्त श्रेष्ठले पछिल्ला वर्षहरूमा हरितगृह ग्यासको उत्र्सजनमा भएको वृद्धिले पृथ्वीको तापमानमा वृद्धि भएको, हिमनदी पग्लने दरमा तीव्रता आएको, पानीका स्रोतहरू सुक्दै गएको र अनियमित वर्षा हुन थालेको जस्ता चुनौतीहरू झन् गम्भीर बन्दै गएको बताए।
सांसद इन्दिरा राना मगरले जलवायु परिवर्तनले प्रत्यक्ष असर महिला तथा बालबालिकामा बढी पर्ने गरेको चर्चा गर्दै भनिन्, ‘नेपाल सरकारले प्रभावकारी, समावेशी तथा दीर्घकालीन जलवायु नीतिहरू निर्माण तथा कार्यान्वयनमा उच्च प्राथमिकता दिनु आवश्यक छ।’
जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा स्थानीय समुदायले भोगेका चुनौती र समस्यालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने उद्देश्यले स्थानीय तहमा जलवायु सम्मेलन र जलवायु पदयात्रा गरिएको साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले बताइन्।
पदयात्रा विषयगत विज्ञ, सांसद, ऊर्जाविज्ञ, अधिकारकर्मी, निजी क्षेत्रका प्रतिनिधि, युुवा, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको सहभागितामा लुक्लादेखि खुमजुङ हुँदै ४८ सय मिटर उचाइमा रहेको गोकियो तालसम्म एक साता लामो जलवायु न्यायको लागि पदयात्रा आयोजना गरिएको थियो। खुम्बु क्षेत्रमा आयोजित उक्त पदयात्रा गत शनिबार सम्पन्न भएको हो। सम्मेलनको अन्तमा जलवायु न्यायका लागि नेपालले हिमाली र पर्वतीय राष्ट्रको नेतृत्व गर्नुपर्ने, जलवायु कूटनीति सुदृढ पार्नुपर्ने, जलवायु कार्यलाई न्यायपूर्ण, समावेशी तथा अधिकारमा आधारित बनाउनुपर्नेसहित नौ बुँदे गोक्यो घोषणपत्र जारी गरिएको छ।
(सोलुखुम्बुको खुमजुङबाट फर्केपछि)
प्रकाशित: १७ वैशाख २०८३ ०८:१५ बिहीबार