समाज

जलवायु परिवर्तनले भ्यागुताको प्रणय गीतमा प्रभाव

पुरुष सिएरान रुख भ्यागुता (ट्रिफ्रग)। तस्वीर: युसी डेभिस

पछिल्ला वर्षमा पृथ्वीको बढ्दो तापक्रमसँगै विभिन्न जनावरको व्यवहारमा भइरहेको परिवर्तनसम्बन्धी अध्ययनको संख्या बढ्दो छ। अमेरिकामा हालै गरिएको एक अध्ययनले भ्यागुताको प्रणय आह्वानको ध्वनि र गुणस्तरमा बढ्दो तापक्रमले प्रत्यक्ष प्रभाव पारेको देखाएको छ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय डेभिस (युसी डेभिस) ले गरेको अध्ययनले यस्तो देखाएको हो। वसन्त ऋतुका सुरुका चिसा दिनमा भाले भ्याकुताका गीत सुस्त, ढिलो र कम ऊर्जाशील हुन्छन्। तापक्रम कम हुँदा आवाजको लय पनि मन्द हुन्छ, तर वातावरण तात्दै जाँदा तिनका गीत छिटो, स्पष्ट र ऊर्जावान् बन्छन्। यस्तो परिवर्तन पोथी भ्यागुताले सजिलै छुट्याउन सक्छन् र उनीहरूले बढी सक्रिय तथा जीवन्त आह्वानलाई विशेष ध्यान दिन्छन्।

न्यानो वातावरणमा रहेको भालेले बढी आकर्षक प्रणय आह्वान गर्दा पोथीको प्रजनन शारीरिक प्रक्रियामा परिवर्तन आउँछ र प्रजनन व्यवहारलाई सक्रिय पार्छ। परिणामस्वरूप पोथीहरू प्रजननस्थलतर्फ जान (नेभिगेसन) सक्छन् र अन्डोत्सर्जन प्रक्रिया सुरु हुन सक्छ। राम्रो प्रणय गीतले भालेलाई आकर्षक मात्र बनाउँदैन, यसले पोथीलाई प्रजननका लागि वातावरण उपयुक्त छ भन्ने संकेत पनि दिन्छ।

यसअघि जलवायु परिवर्तन नभएको अवस्थामा न्यानो वातावरणमा आउने आवाजले सामान्यतः स्थिर वसन्तकालीन अवस्थाको संकेत गथ्र्यो र त्यो संकेत विश्वसनीय हुुन्थ्यो तर अहिले वसन्तको सुरुवातमै छोटो समयका लागि न्यानो अवधि आउन सक्ने र भालेहरू ‘तयार’ भएजस्तो सुनिँदा पोथीहरूले प्रजनन सुरु गर्न सक्ने देखिएको छ, तर त्यसपछि अचानक आएको चिसो लहरले अथवा अन्य मौसमी अवस्थाले अण्डालाई हानि पुर्‍याउन सक्छ। वैज्ञानिकका अनुसार यो सञ्चार प्रणाली स्थिर मौसमी ढाँचाअनुरूप स्थापित भएको हो तर जलवायु परिवर्तनले ती ढाँचालाई अनिश्चित बनाउन सक्ने देखिएको छ र यो चिन्ताको विषय हो।

युसी डेभिसअन्तर्गतको एम्फिबियन एन्ड रेप्टाइल कन्जरभेन्सीकी सरक्षण विज्ञान निर्देशक तथा अध्ययनको नेतृत्वकर्ता जुलियन पेक्नी भ्यागुताको गीत वातावरणको तापक्रममा धेरै निर्भर रहने बताउँछिन्।

‘यो प्रक्रिया पोथीहरूले मौसमी परिवर्तनलाई समयक्रममा कसरी पछ्याइरहेका छन् भन्ने बुझ्ने माध्यम हुन सक्छ। पोखरी तात्दै जाँदा आकर्षक भालेको आह्वान पनि छिटै सुरु हुन्छ’, अध्ययनको नतिजा सार्वजनिक गर्ने क्रममा विश्वविद्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा उनले भनेकी छन्।

‘पोखरी तात्दै जाँदा भाले भ्यागुताको सुस्त र ढिलो आवाज छिटो र आतुर भएजस्तो सुनिन थाल्छ र म आफ्नै कानले त्यो फरक सुन्न सक्छु र पोथी भ्यागुताहरू पनि यसलाई ध्यान दिइरहेका हुन्छन्’, उनले भनेकी छन्।

उत्तरी क्यालिफोर्नियामा रहेको क्वेल रिज इकोलोजिकल रिजर्भ नामक आरक्षित क्षेत्र र उत्तरी क्यालिफोर्नियामा रहेको अनुसन्धान क्षेत्र ल्यासन फिल्ड स्टेसनमा उक्त अनुसन्धान गरिएको थियो। अध्ययनका क्रममा जलाशय किनारामा गएर तातो र चिसो वातावरणमा भ्यागुताका प्रणय गीतहरू रेकर्ड गरिएको थियो र पानीको तापक्रम र प्रजनन आह्वानबिचको अन्तर्सम्बन्ध मापन गरिएको थियो।

त्यसो त प्रजनन समय नजिकिँदा भाले भ्यागुताहरू ठूलो संख्यामा पोखरी र अन्य जल क्षेत्रमा भेला हुन्छन् । तिनीहरू पोथीभन्दा पहिले आइपुग्छन् र आफ्नो ‘आवाज’ लाई न्यानो बनाउँछन् तर पोथीहरू केवल आह्वान सुनेर मात्रै आउँदैनन्, उनीहरूका लागि अन्डा बाँच्ने उपयुक्त समय पनि हुनुपर्छ। अध्ययनले देखायो कि त्यो संकेत भालेको गीतको गुणस्तरमा लुकेको हुन्छ, जुन तापक्रम बढेपछि अझ आकर्षक बन्छ।

युसी डेभिसका प्राध्यापक तथा अध्ययनका सहलेखकसमेत रहेका सर्प तथा उभयचर विज्ञ ब्रायन टडका अनुसार ‘भालेका लागि सकेसम्म चाँडो, अरू भालेभन्दा छिटो पोखरीमा पुग्नु लाभदायक हुन्छ, तर पोथीका लागि भने सही समयमा पुगेर अन्डा राख्नु नै सबैभन्दा हितकर हुन्छ।’

समयचक्र नै सबथोक

फूल फुल्ने, कीरा बाहिर निस्कने र भ्यागुताको प्रजननलगायतका प्राकृतिक चक्र विषयका अनुसन्धानकर्ता तथा अध्ययनका अर्का वरिष्ठ लेखक प्राध्यापक एरिक पोस्टका अनुसार यो नतिजाले जलवायु परिवर्तनका कारण जनावर र बोटबिरुवामा आउने मौसमअनुसारको व्यवहारको अध्ययनलाई नयाँ तरिकाले हेर्न मद्दत गर्न सक्छ।

‘भालेहरूले अन्जानमै प्रजननका लागि वातावरण कति अनुकूल छ भनेर ससाना सकेत दिन सक्छन् र पोथीहरूले ती संकेतलाई भालेले चाहेभन्दा फरक तरिकाले बुझेर आफ्नो व्यवहार तय गर्न सक्छन्’, उनी थप्छन्।

प्राध्यापक पोस्ट्का अनुसार यस अध्ययनका निष्कर्षहरू मिलन आह्वान गर्ने अन्य कीराहरूमा पनि लागु हुन सक्छ।

‘यो अध्ययनका प्रभाव रोचक मात्र होइन, व्यापक पनि हुन सक्छन्’, उनी भन्छन्।

जलवायु परिवर्तन र संरक्षण

पछिल्ला दशकमा बढ्दै गएको जलवायु परिवर्तनका पृष्ठभूमिमा यी वैज्ञानिक नतिजा जीवजन्तुको संरक्षणका लागि महत्त्वपूर्ण मानिन्छन्। भ्याकुतासहित विश्वका झन्डै ४१ प्रतिशत उभयचर प्रजाति लोप हुने जोखिममा छन् र यिनीहरू सबैभन्दा संकटापन्न सूचीमा पर्दछन्। यी प्रजातिले कहिले प्रजनन गर्छन्, पृथ्वी तात्दै जाँदा त्यो समय कसरी सर्छ र त्यसलाई केके कुराले प्रभाव पार्छ भन्ने विषय संरक्षणका लागि महत्त्वपूर्ण हुन्छ।

प्रकाशित: २० फाल्गुन २०८२ ०८:२३ बुधबार