सिरहाको लहान नगरपालिकाले दिगो सरसफाइको उद्देश्यसहित ‘घरघरको शान, स्वच्छता अभियान-२०८२’ औपचारिक रूपमा सुरु गरेको छ।
विश्व शौचालय दिवसका अवसरमा आज पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहमा नगरप्रमुख महेशप्रसाद चौधरीले अभियानको उद्घाटन गर्दै स्वच्छता सुधारलाई प्राथमिकताकाे साथ अघि बढाइने घोषणा गरे।
नगरप्रमुख चौधरीका अनुसार सात वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको लहानमा अझै चार हजारभन्दा बढी घरपरिवार शौचालयविहीन छन्।
उनले भने, “अब कागजमा मात्रै होइन, घरघरको वास्तविक अवस्था परिवर्तन गर्ने बेला आएको छ। त्यसका लागि हामीले स्वच्छता महाअभियानको सुरुआत गरेका छौं।”
नगरपालिकाले गरेको प्रारम्भिक विश्लेषण अनुसार दलित, भूमिहीन, गरिब तथा बाढी जोखिमयुक्त बस्तीहरूमा सरसफाइ समस्या अझै गम्भीर देखिएको छ। दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित खानेपानीको कमी, नियमित मर्मतसम्भार नहुनु जस्ता कारणले नगरको समग्र स्वच्छतास्तर कमजोर भएको जनाइएको छ।
यस्तै भूमिहीन सुकुम्बासी परिवारका लागि उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापनपूर्व स्थानान्तरण प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि नगरप्रमुख चौधरीले व्यक्त गरे। अभियानका क्रममा नगरपालिका, जनप्रतिनिधि, सामाजिक परिचालक, समुदायका संस्था, विद्यालय तथा युवा समूहको सहकार्यमा तीन महिनासम्म घरघरमै पुगी अनुगमन गर्ने तयारी गरिएको छ।
नगरपालिकाले आउँदाे दुई वर्षमा लहानलाई पुनः पूर्ण खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको छ। नगरप्रमुख चौधरीले नगरवासीको सक्रिय सहभागिताकै माध्यमबाट स्वच्छता सुधार सम्भव हुने उल्लेख गर्दै भने, “शौचालय हुनु सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो।”
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।
प्रकाशित: ३ मंसिर २०८२ १३:०९ बुधबार