विराटनगर महानगरपालिका–३ मा रहेको बालसुधार केन्द्रमा बुधबार दिउँसो एक्कासी झडप भएर अवस्था तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । झडपपछि व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुधार केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएपछि थप घटना हुन सकेन ।
दिउँसो पौने १ बजेतिर सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा सम्झाइबुझाइ छुट्याउने क्रममा नेपाल प्रहरीका असई (प्रहरी सहायक निरीक्षक) शम्भु चौधरी र वरिष्ठ हवलदार हिरणकुमार मण्डल घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । घाइतेद्वय सुधार केन्द्रमा सुरक्षाका लागि खटिएको थिए ।
उनले झडपको कारण नखुले पनि हालस्थिति सामान्य बनेको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइसकेको बताए । असई चौधरीलाई सामान्य चोट लागेको छ । टाउकोमा चोट लागेका वरिष्ठ हवलदार मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
झडप सुरु हुनसाथ १२०–१३० जना जति बाल बिज्याइँकर्ताहरु मुख्य गेट तोडेर बाहिर निस्किएका थिए । त्यहीँ समूहले प्रहरीलाई ढुंगामुढा गर्दै गेटदेखि ५० मिटर दक्षिणसम्म लखेटेका थिए । स्थानीयहरुका अनुसार भित्र होहल्ला हुन थालेपछि ड्याङढुङ गरेको आवाज आयो बाहिर निस्केर हेर्दा भित्र रहेकाहरुले प्रहरीलाई ढुंगा, इटाले प्रहार गर्दै अलि पर रहेको पसलसम्म खेदाएका थिए ।
उनीहरुले प्रहार गरेको ढुंगा लागेर प्रहरी घाइते भएको स्थानीयले बताए । कहिलेकाहीँ भित्र होहाल्ला हुने गरेको सुनिन्छ किन हो हल्ला गरेको थाहा छैन । तर, प्राय दिउँसो एक जना केटा सुधार गृह बाहिरबाट एउटा झोलाभित्र फालेर जाने गर्छन् स्थानीयले बताए । झडप सुरु भएर प्रहरीलाई गेट बाहिर खेदाएको केही समयमै पुलिसहरु गाडीका गाडी आइपुगी हाले एक जना स्थानीयले सुनाए ।
बेलैमा अपनाएको सुरक्षा सावधानीका कारण बाल बिज्याइँकर्ताहरु भाग्न भने नपाएको बताउँदै, मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले भने, ‘झडपका कारण केहीबेर तनावपूर्ण स्थिति उत्पन्न भए पनि हाल अवस्था शान्त भइसकेको छ । सुधार केन्द्रलाई गत आर्थिक वर्ष असार मसान्तसम्म गैह्र सरकारी संस्थाले सञ्चालन गर्दै आएका थिए । यस आर्थिक (साउन १ गते) देखि महिला, बालबालिका मन्त्रालयमार्फत सरकारले आफै सञ्चालन थालेको छ । यसको सुरक्षाको जिम्मा जिल्ला सुरक्षा समितिको हुन्छ ।’
सुधार केन्द्र कमजोर क्षमताको (स्ट्रकचर) रहेको र संरचनाहरुको सुधार हुँदै गएको छ । यहाँको सुधार गृहको क्षमता पनि ५० जनाको भए पनि क्षमताभन्दा धेरै रहेको बताउँदै, सिडिओ यादवले भने, ‘क्षमता ५० को हो । तर, हाल २४९ जना बस्दै आएका छन् । बाल बिज्याइँकर्ता भनेको साबिकमा बालबालिका हो । पछिल्लो समय उहाँहरुको उमेर बढेर बढी भइसकेको छ । तर, हाम्रो प्रचलित कानुनले बालककै रुपमा ‘ट्रिट’ गरेर उहाँलाई ठेकेको कैद यहाँबाटै भुक्तान गुर्नपर्ने हुन्छ ।’
विभिन्न उमेर समूह र विभिन्न समाजबाट आएका धेरै संख्यामा भएपछि खटपट हुने नै भयो । यसले गर्दा बेला बेलामा समस्याहरु आइरहन्छ, सिडिओ यादवले भने, ‘आजको घटना वा विषय नयाँ होइन । आज सामान्य विषयको खटपटमा धेरै मास हुने र एग्रेसिभ रुपमा २÷४ जना अघि लागेर होहल्ला गर्न थालेपछि सबै जना मासमा होहल्ला गरे । एक्लै एक्लै हुने भए कानुनको डर हुन्थ्यो ।’
तर, मासमा भएपछि कसलाई के को डर ? यहाँको सुरक्षाकर्मीले राम्रो प्रबन्ध मिलाएको हुँदा यहाँका २४९ जनामध्ये एक जना पनि भाग्न पाएनन् । सबैलाई फिल्डमा राखेर गणना गरेको बताउँदै, सिसिओ यादवले भने, ‘यहाँका चौकीदार, अगुवाहरुका साथ सुरक्षा समितिका पदाधिकारबीच समस्यका बारे छलफल हुँदा काउनसेलिङको आवश्यकता रहेको बताए । सुधार गृहको प्रशानलाई यहाँका बारे लिखित रुपमा दिनुहुन्छ र त्यसपछि सुरक्षा समितिले त्यसमा के के काम गर्न सक्छ र के के कामका लागि स्रोतको व्यवस्थापन गर्नुपर्ने हो सम्बन्धित निकायमा अनुरोध गर्छ । ’
झडपमा उत्रिएका बाल बिज्याइँकर्ताले तोडफोड गरेर सुधार गृहभित्र क्षति पु¥याएका छन् । तोडफोडबाट सुधार गृहको मेस भवन, सुरक्षा ब्यारेक, कार्यालयको कोठा, झ्यालका सिसा, कुर्सीलगायतमा क्षति पुगेको छ ।
विभिन्न अपराधमा संलग्न भएका बालकलाई अदालतको आदेश र फैसला अनुसार सुधार गृहमा राख्ने गरिएको छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएका र कसुरदार ठहर गरेका बालकहरुलाई त्यहाँ राख्ने गरिएको हो ।
तर, सुधार गृहमा २४९ जनामध्ये १२ वर्षका १ जना छन् भने बाँकी १४ वर्षदेखि ३१ वर्षसम्मका छन् । १८ वर्ष तलको हुँदा दोषी ठहर भएकाहरुलाई त्योभन्दा बढी उमेर भइसक्दा पनि कानुन र वैकल्पिक व्यवस्थाको अभावमा सुधार गृहमै राख्ने गरिन्छ ।
त्यसरी राखिएका बाल बिज्याइँकर्ताबीच समय–समयमा विवाद हुँदै झडपसम्मको स्थिति हुने गरेको पाइन्छ ।
प्रकाशित: २८ श्रावण २०८२ १९:१६ बुधबार