समाज

बालिका तथा किशोरीमाथि बढ्दो हिंसा रोक्न सिजपको माग

क्याप्शन

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्यालगायत देशका विभिन्न स्थानमा भइरहेका बालिका तथा किशोरीमाथिका हिंसाका घटनाप्रति सिजपले चिन्ता व्यक्त गरेको हो।

'बारा जिल्लाको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्या तथा देशका विभिन्न स्थानमा विभिन्न समयमा बालिका तथा किशोरीमाथि भइरहेका बलात्कार, यौन दुर्व्यवहार, हिंसा र अनलाइन हिंसाका घटनाप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को गम्भीर ध्यानाकर्षण भएको छ।दिवंगत गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्‍त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ,' सिजपद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

सिजपले दिवंगत गरिमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। यस्ता घटना नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५, मुलुकी अपराध संहिता, २०७४ तथा बालअधिकारसम्बन्धी महासन्धि (सीआरसी) लगायतका कानुनी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको सिजपले जनाएको छ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकालाई हिंसा, शोषण र दुर्व्यवहारबाट संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएकाले यस्ता घटनाको निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सिजपले पीडित तथा परिवारलाई न्यायसँगै निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने, घर, विद्यालय, सार्वजनिक स्थल तथा अनलाइनमा बालबालिकाका लागि सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

त्यस्तै, बालबालिकामाथि हुने हिंसा, बलात्कार, दुर्व्यवहार तथा शोषणका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गर्न पनि सिजपले माग गरेको छ। स्थानीय तह तथा विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता र अभिभावक शिक्षालाई प्रभावकारी बनाउनुपर्ने तथा राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित निकायबाट घटनाको प्रभावकारी अनुगमन हुनुपर्ने सिजपको माग छ।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको गोपनीयता र बाल मनोविज्ञानप्रति संवेदनशील बन्न आग्रह गर्दै सिजपले घटनासँग सम्बन्धित विभत्स तस्बिर, भिडियो, शवका दृश्य तथा पीडित बालिका वा किशोरीको पहिचान खुल्ने सामग्री सार्वजनिक नगर्न अनुरोध समेत गरेको छ।

'सबै सञ्चार माध्यमहरू पीडितको गोपनीयता र बाल मनोविज्ञानप्रति संवेदनशीलतामा ध्यान दिइयोस्। घटनासँग सम्बन्धित विभत्स तस्बिर, भिडियो, शवका दृश्य तथा पीडित बालिका वा किशोरीको पहिचान खुल्ने फोटो, नाम वा अन्य व्यक्तिगत विवरण सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सार्वजनिक नगरियोस्,' विज्ञप्तिमा भनिएको छ, 'त्यस्ता विभत्स दृश्यहरू बालबालिकालाई नदेखाउन तथा सामाजिक सञ्जालमा शेयर/प्रसार नगर्न अभिभावक, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौँ।' 

त्यस्ता सामग्रीको अनियन्त्रित प्रसारले पीडितको गोपनीयता तथा सम्मानको अधिकारमा असर पार्नुका साथै अन्य बालबालिकामा डर, त्रास र मनोसामाजिक असर पर्न सक्ने भएकाले विशेष संवेदनशीलता अपनाउन सिजपले आग्रह गरेको छ।

बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सिजपले प्रत्येक बालबालिकाले भय, हिंसा र दुर्व्यवहारमुक्त वातावरणमा सुरक्षित, सम्मानित र मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ७ भाद्र २०८३ ०८:४६ आइतबार