बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले माग गरेको छ।
अभियानले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राज्यका सुरक्षा निकायबाट नागरिकको सुरक्षा सुनिश्चित हुनुपर्नेमा सुरक्षाकर्मीको गोली लागेर बालक घाइते हुनु गम्भीर, दुःखद र चिन्ताजनक विषय भएको अभियानको भनाइ छ।
बालबालिका कुनै पनि राजनीतिक विवाद, प्रदर्शन, झडप वा हिंसात्मक गतिविधिको मारमा पर्न नहुने उल्लेख गर्दै अभियानले बालबालिकाको जीवन, सुरक्षा, सम्मान र संरक्षणको अधिकार संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले सुनिश्चित गरेको जनाएको छ।
घटनाले सार्वजनिक कार्यक्रम तथा सुरक्षा व्यवस्थापनमा बालबालिकाको सुरक्षा र संवेदनशीलतालाई पर्याप्त प्राथमिकता दिइएको छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएको अभियानले जनाएको छ।
सिजपले नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद् तथा सम्बन्धित निकायसमक्ष घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेको छ। गोली प्रहार तथा घटनामा जिम्मेवार व्यक्तिको पहिचान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न र पीडित बालकले न्याय पाउने सुनिश्चितता गर्न पनि अभियानले आग्रह गरेको छ।
त्यसैगरी, घाइते बालकको सम्पूर्ण उपचार, मनोसामाजिक परामर्श तथा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था निःशुल्क गर्न, बालक र उनको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ।
अनुसन्धान तथा न्यायिक प्रक्रियामा बालमैत्री पद्धति अपनाउँदै बालकको गोपनीयता, मर्यादा र सर्वोत्तम हित सुनिश्चित गर्नुपर्ने अभियानको माग छ। सार्वजनिक कार्यक्रम तथा भीड नियन्त्रणका क्रममा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिई बल प्रयोगसम्बन्धी मापदण्डको पालना गर्न पनि सिजपले आग्रह गरेको छ।
अभियानले राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सम्बन्धित निकायलाई घटनाको तत्काल अनुगमन गरी बालबालिकाको संरक्षणका लागि आवश्यक पहल गर्नसमेत अनुरोध गरेको छ।
राजनीतिक दल, स्थानीय सरकार, प्रशासन तथा सुरक्षा निकायले आफ्ना गतिविधिमा बालबालिकाको सर्वोत्तम हित र सुरक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अभियानले उनीहरूलाई हिंसा, द्वन्द्व र जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता सुनिश्चित गर्न माग गरेको छ।
‘बालबालिकाको जीवन अमूल्य छ र उनीहरूमाथि हुने कुनै पनि प्रकारको हिंसा, लापरबाही तथा अधिकार उल्लङ्घन कदापि स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।
सिजपले बालबालिकालाई हिंसा, द्वन्द्व र असुरक्षाबाट मुक्त राख्न तथा उनीहरूको जीवन, सुरक्षा र सम्मानको अधिकार सुनिश्चित गर्न राज्यका सबै जिम्मेवार निकायलाई जवाफदेही बन्न आग्रह गरेको छ।
प्रकाशित: १५ कार्तिक २०८३ १५:३२ आइतबार