समाज

बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन र प्रभावित सबै क्षेत्रमा राहत तथा मानवीय सहायता समान रूपमा पुर्‍याउन बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले सरकार तथा सम्बन्धित सरोकारवालासँग अपिल गरेको छ।

सिजपले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढी आएको एक साता बितिसक्दा पनि प्रभावित परिवार तथा समुदायको अवस्था अत्यन्त पीडादायी र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै खोजी तथा उद्धार कार्यलाई अझ व्यापक, प्रभावकारी र निरन्तर बनाउन आग्रह गरेको हो।

सिजपले विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित संरक्षण, परिवारसँग पुनर्मिलन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

विपद्का बेला बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भन्दै सिजपले उनीहरूको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्श तथा सहयोगलाई राहत र पुनर्स्थापनाको अभिन्न अंग बनाउनुपर्ने सिजपको भनाइ छ।

त्यस्तै, विपद्का समयमा पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता, मर्यादा र सम्मानको अधिकार संरक्षण गर्नुपर्नेमा पनि सिजपले जोड दिएको छ। पीडित बालबालिका तथा परिवारका तस्वीर, भिडियो वा संवेदनशील अवस्थालाई अनुमति र आवश्यक संवेदनशीलताबिना सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्दा थप मानसिक तनाव सिर्जना हुनुका साथै बाल संरक्षणका आधारभूत मान्यतामा समेत असर पर्न सक्ने भन्दै जिम्मेवार व्यवहार गर्न आग्रह गरिएको छ।

बेपत्ता व्यक्ति तथा बेवारिसे शवबाट फैलन सक्ने दुर्गन्ध र सम्भावित महामारीबाट जोगिन तथा बालबालिकालाई त्यस्ता स्थानमा जाँदा पर्न सक्ने मानसिक असरबारे पनि सम्बन्धित सबै सचेत हुनुपर्ने सिजपले जनाएको छ।

सिजपले राष्ट्रिय मानव अधिकार आयोगलाई बालबालिकाको अवस्थालाई विशेष ध्यानमा राख्दै प्रभावकारी अनुगमन गर्न तथा सरकारलाई आवश्यक सिफारिस र मार्गदर्शन गर्नसमेत अनुरोध गरेको छ।

विपद्सम्बन्धी सूचना तथा राहतको अवस्थाबारे आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकता दिन, अपुष्ट सूचना तथा अफवाह फैलिन नदिन र प्रभावित समुदायको संवेदनशीलताको सम्मान गर्न पनि सिजपले सबैमा आग्रह गरेको छ।

प्रकाशित: १८ भाद्र २०८३ ११:०६ बिहीबार