कपिलवस्तुमा साढे ५ लाख बढीको नागरिकताको बिवरण डिजिटलाईज गरिएको छ । त्यस मध्ये २०४६ साल अघि बनाइएको नागरिकताको बिवरणका फाईलहरु जीर्ण र झुत्रो बनेर काम नलाग्ने अवस्थामा पुगेका ५० हजार बढी नागरिकताको बिवरण मोबाईलबाट सिसिआईएमएसबाट स्केन गरी बिवरण सुरक्षरित गरिएको हो ।
२००९ सालदेखि २०८२ असोज ३० गते सम्म ५ लाख ६५ हजार ९३० नागरिताका बिवरण डिजिटलाइज गरिएको प्रशासन शाखाका नायब सुब्बा रुद्रप्रसाद पन्थीले बताए । त्यसमध्ये २०४६ साल अघिका फाईलहरु धमिराले खाएका, मसि उडेका र झुत्रा बनेर काम नलाग्ने अवस्थामा पुगेका ५० हजार ४२० नागरिकताका बिवरण सिसिएमएसबाट डिजिटलाईज गरी बिवरण सुरक्षित गरिएको उनले बताए ।
नेपाली कागजसमेत प्रयोग नगरिएकाले पुराना कागजातहरु कामै नलाग्ने अवस्थामा पुगेका छ । बिवरण नै मासिने जोखिम बढे पछि गत बैशाखदेखि प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको निर्देशनपछि पुराना बिवरण डिजिटलाईज गर्ने कार्यको सुरुवात गरिएको हो । ‘नेपाली कागजको समेत प्रयोग नगरिएकाले पुराना बिवरण जति सबै झुत्रा भएर काम नलाग्ने अवस्थामा पुगेका छन्’ प्रजिअ तमाङले भने ‘पुराना बिवरण सुरक्षित गर्न सिसिएमएस एप्सको प्रयोग गरी ५० हजार बढी पुराना नागरिकताका बिवरण सुरक्षित गरेका छौ ।’
गत बैशाख १ गतेदेखि नासु पन्थीको अगुवाईमा ६ जना कर्मचारीले झुत्रा भएका नागरिकताको बिवरण स्क्यान गर्ने कार्य सुरु गरेको थियो । कार्यालय खुलेको बेला सेवाग्राहीको चाप हुने भएकाले बिदाको बेला ती कर्मचारीहरुले बिवरण सुरक्षित गर्ने कार्य गर्ने गरेका थिए । २००९ देखि २०४६ सम्मका भेटिएका पुराना बिवरणहरुको खोजी गर्दै सुरक्षित गर्ने काम जारी राखिएको प्रजिअ तामाङले बताए ।
२०४६ सालपछि मात्र नेपाली कागजको प्रयोग गरिएकाले त्यस यताका बिवरण र कागज भने सुरक्षित रहेको उनले बताए । यस्तै हातहतियार संघ संस्थाको बिवरण समेत डिजिटलाईज गर्ने कार्यको थालनी गरिएको उनले बताए । पुराना बिवरण सुरक्षित भए पनि अहिले भने पुराना फाईल हेर्ने झन्झटबाट कर्मचारीहरु मुक्त भएका छन । पुराना नागरिकताको बिवरण अब कम्प्युटरमा सहजै हेर्न सकिने भएकाले प्रतिलिपि निकाल्ने सेवाग्राही र कर्मचरी दुबैलाई धेरै सहज भएको छ ।
प्रकाशित: ३० आश्विन २०८२ १९:४४ बिहीबार