नागरिकको सुरक्षा र विपद् व्यवस्थापनमा प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनीमा ‘वाटर रेस्क्यू’ सम्बन्धी विशेष अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
‘प्रहरी कार्य सम्पादन सुधार कार्ययोजना’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यस किसिमको प्रशिक्षण तथा ‘डेमो’ अभ्यास आयोजना गरेको हो।
उक्त प्रशिक्षण कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूलाई जलजन्य विपद् र दुर्घटनाका विविध पक्षबारे विस्तृत जानकारी गराइएको थियो।
विशेषगरी, पानीमा उद्धार सम्बन्धी आधारभूत अवधारणाहरू, उद्धारकर्ताले स्वयं अपनाउनुपर्ने व्यक्तिगत सुरक्षा मापदण्ड तथा पानीमा हुने दुर्घटनाका सम्भावित कारण र जोखिम विश्लेषण जस्ता प्राविधिक विषयमा प्रशिक्षण केन्द्रित रहेको थियो।
यस प्रकारको पूर्वतयारी र अभ्यासले भवितव्य आउने जलजन्य दुर्घटनामा प्रहरीको परिचालन थप प्रभावकारी हुने र जनधनको क्षति न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।
प्रकाशित: २३ मंसिर २०८२ २०:३९ मंगलबार