समाज

सिडिओ कार्यालयमा नागरिक सहायता कक्ष

जिल्ला प्रशासन कार्यालय उदयपुरले कार्यालय भवनमै “नागरिक सहायता कक्ष” स्थापना गरी सञ्चालनमा ल्याएपछि सर्वसाधारणलाई राहत मिलेको छ । खासगरी निरक्षर, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गतालाई लक्षित गरी स्थापना गरिएको सहायता कक्षमा सबैखाले सेवाग्राही लाभान्वित हुन पाएका छन् ।

कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई लिखत तथा अन्य कानुनी परामर्श र सहयोग गर्ने उद्देश्यले बुधबारदेखि सञ्चालनमा ल्याएको सहायता कक्ष मेखबहादुर मगराती यसैसाता नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा आएपछि स्थापना गरिएको हो । उनी आएलगत्तै कार्यालय भवनको भुइँतलामा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेले बताए ।

सहायता कक्षले सर्वसाधारण सेवाग्राहीलाई सामान्यदेखि जटिलखाले सेवासम्म लिन आवश्यक निवेदन लेख्नेदेखि कागजात जुटाउने तथा अन्य सेवासम्बन्धी उचित परामर्श दिने काम सुरु गरेको छ । कार्यालयद्वारा जारी सूचनामा प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कानुनी प्रक्रियाबारे जानकारी गराउनेदेखि निःशुल्क निवेदन लेखिदिनेसम्मको सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको उल्लेख छ ।

सानोतिनो काम लिन पनि निवेदन आवश्यक पर्ने तर, निरक्षर सर्वसाधारण, ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्त व्यक्तिहरूले त्यसका लागि लेखापढी व्यवसायी वा कानुन व्यवसायी गुहार्दा खर्च लाग्ने कारण मर्कामा पर्दै आएका सेवाग्राहीलाई सहायता कक्षले प्रत्यक्ष राहत महसुस गराउने अपेक्षा प्रशासनले गरेको छ ।

सिडिओ मगरातीले प्रशासन कार्यालयबाट प्राप्त हुने सबैखाले सेवा सरल, प्रभावकारी, प्रविधि र नागरिकमैत्री बनाउने उद्देश्यले सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको बताए । निवेदन लेख्न नजान्नेहरूदेखि अन्य सबैखाले सेवाग्राहीलाई सहायता कक्षबाट निःशुल्क निवेदन लेखिदिनेदेखि अन्य कानुनी प्रक्रियागत कुराहरूको पनि व्यवस्था मिलाइएको उनले बताए ।

सेवाग्राहीहरूलाई प्रशासनिक भवनको भुइँतल्लामा रहेको सहायता कक्षमा सम्पर्क गरेर निश्चिन्त सेवा लिन पनि प्रशासनले सूचना जारी गरेरै अनुरोध गरेको छ ।

प्रकाशित: ४ असार २०८३ २०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App