समाज

सुन तस्करी गर्न चिनियाँ नागरिकले घर भाडामा लिएको खुलासा

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालबाट बिहीबार झण्डै २२ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकले एउटा घर नै भाडामा लिएर सुन प्रशोधन गर्ने गरेको खुलेको छ।

उनीहरुले सुन तस्करीकै लागि भनेर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी घर लिएको पाइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार उनीहरुले चार महिनाका लागि अग्रिम १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेर घर भाडामा लिएको पाइएको  छ।

प्रहरीले बिहीबार माथिल्लो भंगालस्थित उक्त घरबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित चिनियाँ नागरिक हान फेई,  झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरेको थियो। उक्त सुनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार उनीहरुले चीनको ग्वाङ्झाउमा बस्ने झेन जियाको निर्देशनमा काम गर्ने गरेकोको खुलेको छ। झेनले नेपालमा सुन कहाँ र कसलाई पुर्‍याउने निर्देशनअनुसार उनीहरुले काम गर्ने बताइएको छ।

उनीहरुले सुन अर्धठोस अवस्थामा ल्याउने र पछि त्यस घरमा विभिन्न मेसिन र केमिकलको प्रयोग गरी सुनलाई बिस्कुटको आकार दिने गरिएको पाइएको छ।

प्रकाशित: २३ आश्विन २०८३ १४:२७ शुक्रबार