नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य सम्मानित भएका छन्। देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान र एसएस फाउण्डेसनद्वारा यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डल सम्मानित भएका हुन्।
प्रतिनिधिलाई फाउण्डेसनका संरक्षक गीतकार शोभित उप्रेती, फाउण्डेसनका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान उपाध्यक्ष मातृका पोखरेलसहितले सम्मान गरेका हुन्।
जनवादी गणतन्त्र चीनको साहित्यिक एवं सांस्कृतिक टोलीको नेतृत्व ‘लु सुन कल्चरल फाउण्डेसन’ का अध्यक्ष एवं विश्व प्रसिद्ध साहित्यकार लु सुनका नाति झाउ लिङफेईले गरेका हुन्।
संरक्षक उप्रेतीले चिनियाँ सांस्कृतिक एवं साहित्यिक टोलीको नेपाल भ्रमणले यस क्षेत्रमा दुई देशबीच सहकार्य बढ्ने बताए । प्रतिष्ठानका उपाध्यक्ष पोखरेलले मित्रराष्ट्र चीनको सांस्कृतिक एवं साहित्यिक टोलीको भ्रमणले एक अर्काको संस्कृति, साहित्यिक र सभ्यताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष श्रेष्ठले नेपालको कला संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रमा आपसी सहकार्य र सहयोग आवश्यक रहेकमा जोड दिए । कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी नृत्य प्रस्तुत गरिएको थियो।
पन्ध्र सदस्यीय चिनियाँ सांस्कृतिक एवं साहित्यिक टोलीले पाटन दरबार स्क्वायरलगायत उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक महत्वका ठाँउहरूको भ्रमणसमेत गरेको छ। टोलीलाई शुक्रबार नै नेपाल प्रज्ञा प्रतिष्ठानले स्वागत गरेको थियो।
प्रकाशित: १४ कार्तिक २०८३ १५:१८ शनिबार