रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको विपद्पछि जोखिम अझै नटरेको र नेपालतर्फ बनेको नयाँ ताल फुट्न सक्ने भन्दै चीनको जलस्रोत मन्त्रालयले उच्च सतर्कताको चेतावनी दिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम (सीसीटीभी) ले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार नेपालको चोजियान खोला र पुर्पुच्याङ्बु खोला मिसिने दोभान नजिकै पहिरोका कारण नदी थुनिएर ठूलो अवरोधित ताल बनेको छ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र ताल भरिएर बाहिर बग्न थालेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
आगामी तीन दिनभित्र तालमा थप करिब ३० लाख घनमिटर पानी प्रवेश गर्ने अनुमान गरिएको छ। र, जुनसुकै बेला बाँध फुटेर तल्लो तटीय क्षेत्रमा पुनः भयानक आकस्मिक बाढी आउने उच्च जोखिम रहेको छ।
चिनियाँ जलस्रोत मन्त्रालयले उक्त अवरोधित तालको अवस्थालाई भू-उपग्रह र राडार प्रविधिमार्फत नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। सम्भावित बाढीको गति र प्रभावबारे वैज्ञानिक गणना तथा सिमुलेसन गर्दै आपत्कालीन पूर्वतयारीका लागि तथ्यांक विश्लेषण भइरहेको बताइएको छ।
यसैबीच, नेपालतर्फबाट सुरु भएको बाढी-पहिरोका कारण चीनको तिब्बतस्थित ग्याइरोङ (केरुङ) नाकामा समेत ठूलो विनाश भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
बिहीबार बिहानसम्म त्यहाँ ३ जनाको मृत्यु पुष्टि भएको छ भने २ जनाको जीवितै उद्धार गरिएको छ। सीमा क्षेत्रबाट २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको र खोजीका लागि चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली तथा हेलिकोप्टर परिचालन गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
नेपालतर्फ नदी थुनिएर बनेको ताल फुट्ने जोखिम उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १५:३९ बिहीबार