समाज

चीनको स्पष्ट सन्देश : निर्वाचन सफल बनाउन पूरा सहयोग, बिआरआईलाई तीव्रता

फाइल तस्बिर : नेपालका लागि चीनका राजदूत छन सङ

नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा सन्तुष्टि व्यक्त गर्ने चिनियाँ राजदूतले ‘बेल्ट एन्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बताए।

शुक्रबार साँझ मूलधारका प्रमुख सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँग भएको छलफलमा उनले भने, ‘नेपालमा व्यापार, लगानी, औद्योगिक ‘पार्क’ निर्माणलगायत सबैतिर प्रगति भएको छ, केही आयोजनामा केही विलम्ब हुनु अस्वभाविक होइन।’ 

‘बिआरआई परियोजनामा प्रगति भएको छ। ती सबै प्रशासनिक प्रक्रियामा छन्, तिनको सफल कार्यान्वयनका निम्ति स्थायी सरकार अपरिहार्य छ। आगामी चुनावपछि बन्ने सरकारबाट ती परियोजना द्रुत गतिमा कार्यान्वयन हुन सक्छन्,’ राजदूत छनले भने, ‘हामी अन्तरिम सरकारसँग पनि निकट सम्पर्क र समन्वयमा काम गरिरहेका छौं, तर यो सरकारको ‘म्यान्डेट’ आमनिर्वाचन गराउनु भएकाले हामीले निर्वाचनलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौं।’

चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको नेपाललगायत सबै छिमेकीका निम्ति आर्थिक विकासको ढोका खोल्ने जानकारी दिँदै चिनियाँ राजदूतले नेपालको आवश्यकताअनुसार योजना तर्जुमा गरिएको बताए।

‘नेपालका कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्‍याउने परियोजनामा काम भइरहेको छ, हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ,’ पञ्चवर्षीय योजनाका विशेषताबारे जानकारी दिँदै राजदूत छनले भने। ती योजना चीन र नेपालका निम्ति वरदान सावित हुने उनको कथन छ।

नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धि नै चीनको चाहना भएको दोहोर्‍याउँदै उनले अन्तरिम सरकारसँग निकट सम्पर्कमा रहेर चीनले काम गरिरहेको बताए। रणनीतिक योजना तथा भरपर्दो विकास साझेदारको अभावमा नेपालको विकास सुस्त गतिमा भएको विश्लेषण सुनाउँदै उनले नेपालको विकासमा सघाउन चिनियाँ पञ्चवर्षीय योजनामा नेपालको विकासका परियोजना पनि समाहित गरिएका जानकारी दिए। अन्य छिमेकीलाई पनि सघाउने परियोजना १५औँ पञ्चवर्षीय योजनामा समेटिएका उनले बताए।

ताइवान, हङकङ र मकाउ चीनका अभिन्न भूभाग हुन् भन्ने मान्यतालाई नेपालका सबै सरकारले स्वीकार गरेर एक चीन सिद्धान्तप्रति अटल ऐक्यब वद्धता जनाएर तदनुरूप व्यवहार गरेकामा आभार व्यक्त गर्दै चिनियाँ राजदूतले चीन र नेपालबीचको मैत्री सधैं सुमधुर रहेको उनको भनाइ थियो। 

चीन–नेपाल सम्बन्धलाई प्रभावित पार्ने विषयप्रति जेनजी अगुवाहरूको पनि विमति नरहेको आफूले पाएको उनले बताए। सो अवसरमा उनले एक प्रश्नको जवाफमा राजदूत छनले चीन र नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएको, दुवै देशले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेका, विधिमा आधारित विश्व व्यवस्थालाई मानेको उनले स्पष्ट पारे।

राजदूत छनले भने, ‘आधुनिक चीनको निर्माणअघि जेनजी आन्दोलन चीनमा पनि भएको थियो, यसलाई विश्वका विभिन्न देशमा कुन पृष्ठभूमिमा भएका थिए त्यसको विवेचना गर्नुपर्छ, नेपालमा पनि राष्ट्रलाई केन्द्रमा राखेर गरिएको, सुशासन प्रवर्द्धनलगायत उनीहरूका मुद्दा सकारात्मक परिवर्तनका निम्ति भएको मेरो बुझाइ छ।’

राजदूत छनका अनुसार पन्ध्रौं पञ्चवर्षीय योजनामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई सुदृढ गर्ने, जनताको हितलाई प्राथमिकता दिइएको, उच्चस्तरीय विकास हासिल गर्दै योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति आय २० हजार अमेरिकी डलर कायम गर्ने, विकास र सुरक्षालाई समान रूपमा सुनिश्चित गर्ने, खुलापन नीतिलाई अझ विस्तार गर्ने, सहकार्यका नयाँ अवसरहरू खोल्ने, बहुपक्षीय व्यापार प्रणालीलाई दृढतापूर्वक समर्थन गर्ने, चिनियाँ विशेषतासहितको सामाजिक सुशासन सुदृढीकरण तथा राष्ट्रिय एकीकरणमा जोड दिएको छ। रासस

प्रकाशित: २९ कार्तिक २०८२ ११:१९ शनिबार