समाज

नेपालको पुनर्निर्माणमा सघाउन चीन तयार : घर बनाउनदेखि जनजीवन सामान्य बनाउनसम्म सहयोग गर्ने

चीनले भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सक्रिय रूपमा सहयोग गर्ने घोषणा गरेको छ। उसले विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न र सकेसम्म छिटो सामान्य जनजीवन तथा काममा फर्कन सहयोग गर्ने जनाएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार यस्तो बताएका हुन्। नेपालले बाढीपहिरोपछि पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले चीनले सहयोग गर्ने बताएका थिए।

गुओका अनुसार रसुवा पहिरोपछि चीनले प्रभावित क्षेत्रका लागि तत्काल आपत्कालीन सहयोग घोषणा गरेको थियो। चिनियाँ सरकारले नेपाललाई नगद सहयोग उपलब्ध गराउनुका साथै पाँच चरणमा राहत सामग्री पठाएको थियो।

त्यस्तै, सुरुङ उद्धार र फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २० भन्दा बढी विज्ञ नेपाल पठाइएको उनले बताए। चीनले मौसम, जलविज्ञान र भूगर्भसम्बन्धी तथ्यांक पनि नेपालसँग निरन्तर आदानप्रदान गर्दै आएको उनले जानकारी दिए।

यसैबिच, चीनका विभिन्न क्षेत्रका नागरिकले पनि नेपाललाई सहयोग गरेको र नेपाली जनताप्रति सद्भाव तथा समर्थन व्यक्त गरेको गुओले बताए।

उनले विपद्ले नेपालमा ठुलो क्षति पुर्‍याएको र पुनर्निर्माणको काम निकै चुनौतीपूर्ण रहेको बताए। चीनले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र विपद्का कारण नेपालले भोग्नुपरेको क्षतिप्रति दुःख व्यक्त गरेको पनि उनले जानकारी दिए।

गुओले भने, ‘पहिले नै उपलब्ध गराइएको आपत्कालीन सहयोगका अतिरिक्त चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्नेछ। यसबाट विपद् प्रभावित क्षेत्रका नागरिकले घर पुनर्निर्माण गर्न र सकेसम्म चाँडो सामान्य जनजीवन तथा काममा फर्कन सक्नेछन्।’

चीनले प्राकृतिक विपद्बाट उत्पन्न जोखिम र चुनौतीको सामना गर्न नेपालको विपद् रोकथाम तथा जोखिम न्यूनीकरण क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App