समाज

विश्वकप २०२६ लक्षित बालगीत ‘द फुटबल’ सार्वजनिक

विश्वकप २०२६ लाई समर्पित गर्दै बालगीत अभियानअन्तर्गत तयार गरिएको बालगीत ‘द फुटबल’ (भकुण्डो) एक औपचारिक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। किताब चरो नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाइस्कुलको सहकार्यमा निर्माण गरिएको उक्त गीत स्वस्तिश्री गुरुकुल स्कुल, सानोभर्याङ काठमाडौंमा विमोचन गरिएको हो।

एक फुटबलप्रेमी बालकको सपना, खेलप्रतिको लगाव र खेलाडी बन्ने प्रयासलाई अभिनय, नृत्य र दृश्यात्मक कलामार्फत भिडियोमा प्रस्तुत गरिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि बालअधिकारकर्मी सुम्निमा तुलाधरले बालगीतले बालबालिकामा आपसी सद्भाव र भातृत्व विकासमा सकारात्मक योगदान दिने बताइन्। लेखक तथा समालोचक झलक सुवेदीले बालबालिकामा फुटबल र साहित्यप्रतिको रुचि बढाउन गीत उपयोगी हुने उल्लेख गरे।

त्यसैगरी त्रियोग हाइस्कुलका कार्यकारी निर्देशक अजित लामाले गीतका गीतकार रामबाबु सुवेदीको योगदानको प्रशंसा गर्दै यस्ता बालगीत परियोजना निरन्तर अघि बढ्नुपर्ने बताए। स्वस्तिश्री गुरुकुलकी प्रिन्सिपल नेहा के.सी.ले बालबालिकालाई खेलप्रति आकर्षित गर्ने सन्दर्भमा गीत उपयोगी रहेको धारणा राखिन्।

संगीतकार टेकेन्द्र नेपालीले विश्वकपको सन्दर्भसँग मेल खाने भएकाले गीत समयानुकूल भएको बताए। भिडियो निर्देशक आचार्य गोपालका अनुसार बालबालिकामा फुटबल खेलप्रतिको सपना र प्रेरणा जगाउने उद्देश्यले भिडियो निर्माण गरिएको हो।

गीतमार्फत बालबालिकामा खेलकुदप्रतिको आकर्षण, सपना र प्रेरणालाई प्रोत्साहन गर्दै भविष्यमा नेपाली खेलाडीलाई विश्वस्तरमा पुर्‍याउने भावसमेत अभिव्यक्त गरिएको छ।

प्रकाशित: ९ असार २०८३ १८:५१ मंगलबार