स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि प्राथमिकता दिने गरी नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनका लागि माग गरिएको छ।
यहाँका बालबालिकाले आउँदाे आर्थिक वर्षको बजेटमा विपन्न, अभिभावकविहीन तथा समस्यामा रहेका बालबालिकालाई प्राथमिकतामा राख्न त्यस्तो माग गरेका हुन्।
बालिका विनिता चौधरीले बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारमा काम गर्नुपर्ने, बालविवाह, बालश्रम, बालहिंसा रोकथाममा पालिकाले नीति तथा कार्यक्रममै व्यवस्था गर्नुपर्ने माग गरिन्।
अर्की बालिका निर्मला विकले बालिका बलात्कार तथा यौनजन्य हिंसाको जोखिममा परिरहेकाले यौन दुर्व्यवहारबाट सुरक्षा, जोखिममा रहेका बालबालिकाको संरक्षणको जिम्मा पालिकाले लिनुपर्ने माग गरिन्।
बालिका किरण लोनियाले बालबालिकाका लागि हरेक विद्यालयमा पुस्तकालय, खेलमैदान, कला र संस्कृति संरक्षण र नेतृत्व विकासमा लगानी गर्नुपर्ने माग गरिन्।
“मुस्लिम बस्तीमा अहिले पनि बालविवाह छ, धेरै अभिभावकले छोरीलाई विद्यालय पठाउँदैनन्”, उनले भनिन्, “बालविवाहका कारण धेरै बालिका समस्यामा छन्। उमेर नपुग्दै आमा बन्छन्। मुस्लिम समुदायलाई यस्ता सवालमा सचेत बनाउन, शिक्षा र स्वास्थ्यमा लगानी बढाइदिन आग्रह छ।”
कैलारी गाउँपालिकाका दिपु चौधरीले अपाङ्गता भएका बालबालिकाका लागि विशेष सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिन्। “स्थानीय पालिकामा योजना छनोट गर्दा बस्ती स्तरमा हुने भेला, वडास्तरीय छलफल लगायत कार्यमा हामीलाई पनि सहभागी गराइदिनुस्”, उनी भन्छिन्, “विद्यालयमा खानेपानी तथा सरसफाइको कमी छ। शौचालय व्यवस्थित छैनन्, यसतर्फ पनि लगानी बढाउनुपर्यो।”
कतिपयले बालबालिकामाथि अनलाइन दुर्व्यवहार र साइबर जोखिम बढेको गुनासो गर्दै सुरक्षित इन्टरनेटको प्रयोगबारे जनचेतना जगाउनुपर्ने माग गरेका छन्। यसका साथै महिनावारी व्यवस्थापनमा सहयोगका लागि हरेक विद्यालयमा सम्पर्क शिक्षकका रूपमा महिला शिक्षकलाई राख्नुपर्ने माग गरेका छन्।
हालै यहाँको भजनीमा आयोजित कार्यक्रममा सहभागी बालबालिकाले यस्तो माग गरेका हुन्। गर्मीमा पर्याप्त पङ्खा नहुँदा विद्यालयमा अध्ययन गर्न समस्या भइरहेको, शौचालय फोहोर हुँदा संक्रमणको जोखिम रहेको र समुदायमा अझै छाउपडी प्रथा रहेकाले पठनपाठनमा चुनौती रहेको बालबालिकाको गुनासा छन्।
कार्यक्रम वल्ड भिजन इन्टरनेशनल नेपाल र बालकल्याण सङ्घ टीकापुरको आयोजनामा कैलालीमा सञ्चालित बाल समृद्धिका लागि हातेमालो तथा एकीकृत विकास कार्यक्रमअन्तर्गत भएको हो।
कार्यक्रममा भजनी नगरपालिका, महिला बालबालिका शाखा प्रमुख रिजु चौधरीले बालविवाह, लागू अवस्था दुर्व्यवसन, बीचैमा विद्यालय छोड्ने दर र बालबालिकामा आत्महत्याका घटना बढ्दै गएको बताइन्।
नगर उपप्रमुख राजु तिरुवाले पालिकाले बालविवाह न्यूनीकरणका लागि मुस्लिम बस्तीमा परिवार नियोजन गर्ने महिलालाई प्रोत्साहनका कार्यक्रम अगाडि बढाइएको र त्यसलाई विस्तार गरिने योजना बताए। “हामीले प्रोत्साहनका लागि कम्बल वितरण लगायत कार्यक्रम गरिरहेका छौं। पहिलो वर्ष तीन जना मात्रै आएकामा दोस्रो वर्ष २६ महिलाले बन्ध्याकरण गरेको भनेर सम्पर्क गरेका छन्”, उनले भने, “यो कार्यक्रम आउँदाे दिनमा पनि निरन्तर रहने छ। नागरिक सचेत गराउन विभिन्न कार्यक्रम र लाखौं लगानी गरिरहेको भए पनि प्रतिफल खासै नदेखिएकाले रणनीति बदल्दैछौं।”
नगरप्रमुख केवल चौधरीले बालबालिकाका समस्यामा आफू गम्भीर रहेको भन्दै कार्यक्रममा उठेका जिज्ञासा सम्बोधन, समस्या भएका विद्यालयमा शिक्षा शाखासँग समन्वय गरेर सुधारका प्रयास गरिने बताए।
बालकल्याण सङ्घका संरक्षण अधिकृत इन्द्रराज जोशीले परियोजनाले बालबालिकाको शिक्षामा पहुँच र निरन्तरता बढाउन जोखिममा रहेका बालबालिकाको सुरक्षा र संरक्षण गरिने बताए।
उनले बालबालिकाको सहभागिता बढाउन, किशोरकिशोरीलाई जीवनाेपयोगी शिक्षा दिन, बालविवाह, बालश्रम, हिंसा तथा दुर्व्यवहारविरुद्ध अभियान सञ्चालन गरिएको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।
कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले पालिकाले अति विपन्न, अभिभावकविहीन बालबालिकालाई सहयोग, स्वास्थ्य परीक्षण, क्षमता विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए। “हाल बस्तीस्तरमा टोल भेला भइरहेकाले आफ्ना योजना समावेश गर्न भेलामा सहभागिताका लागि बालबालिकालाई आग्रह गरिरहेका छौं”, उनले भने, “बालबालिकाको पोषण सुधार, पत्रु खानाको प्रयोग कम गर्न अभिभावक र बालबालिका जिम्मेवार बनाउन आवश्यक रहेकाले सोहीअनुसार कार्यक्रम गर्छौं।”
कैलारी-८ का वडाध्यक्ष तारामल कठरियाले बालबालिकालाई तत्काल योजना ल्याउन आग्रह गर्दै केही योजना सम्बोधन गर्न आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाए। उनले बालविवाह, लागुऔषध नियन्त्रणमा प्राथमिकता दिएर काम गर्ने बताए।
वडा सदस्य लक्ष्मी चौधरीले पहिलो पटक बालबालिकाका धेरै माग सुन्न पाउँदा खुसी लागेको बताए।
प्रकाशित: १७ जेष्ठ २०८३ १२:४० आइतबार



