समाज

विद्यालयबाहिरै मुसहर बालबालिका

सुनसरीको दुहबी नगरपालिका–९ की १६ वर्षीया खुसी ऋषिदेव (मुसहर) ले दिनहुँ आफ्नै उमेरका साथीहरू किताब र कापी बोकेर विद्यालय आउजाउ गरेको देख्छिन् तर उनको मनमा आफू पनि पढ्न जान पाए हुन्थ्यो भन्ने चाहना पलाउन सकेन। किनकि उनलाई न कसैले पढ्नुपर्छ भन्यो न परिवारले नै विद्यालय पठाउने प्रयास गर्‍यो।

खुसीको घरवरिपरि सामुदायिक र निजी विद्यालयको कमी भने छैन। विद्यालय नगईकन उनको पढ्ने उमेर बित्दै गयो।  अहिले घरमा उनको पढाइ होइन, विवाहको कुरा चल्न थालेको छ। अक्षर चिन्ने र आफ्नो नाम लेख्न सिक्ने अवसर नपाएकी खुसीले अब कसैकी पत्नी बनेर घर जाने सपना देख्न थालेकी छन्। ‘खै, अहिलेसम्म पढ्न स्कुल गएकी छैन। किन पढ्ने भन्ने पनि थाहा छैन,’ उनी भन्छिन्।

पढ्न नपाएकोमा गुनासो छ कि छैन भन्ने प्रश्नमा उनीसँग खासै उत्तर छैन। उनलाई अब विद्यालय जाने उमेर बितिसकेको महसुस हुन थालेको छ। ‘विवाह गर्ने कुरा चलिरहेको छ,’ उनी भन्छिन्, ‘अब त उमेर छिप्पिसक्यो, स्कुल जान पनि लाज हुन्छ।’

जुन उमेरमा उनका हातमा किताब हुनुपर्ने हो, त्यही उमेरमा विवाहको कुरा चलिरहेको छ। जुन उमेरमा उनले आफ्नो भविष्यबारे सपना देख्नुपर्ने हो, त्यही उमेरमा विवाह गरेर अर्काको घर जाने कल्पना गर्न थालेकी छन्। उनी घरको कामबाहेक बेलामौकामा अरूका खेतबारीमा मजदुरी गर्न जान्छिन्। त्यही कामबाट कमाएको थोरै पैसामा उनी आनन्द मान्छिन्।

त्यसैगरी दुहबी–९ की १७ वर्षीया रदिका ऋषिदेवको पढाइ कक्षा ६ मै रोकियो।  घरनजिकैको विष्णु माध्यमिक विद्यालयमा पढ्दै गरेकी उनी दुई वर्षअघिदेखि विद्यालय जान छाडेकी हुन्। पढाइप्रति रुचि घट्दै गएपछि उनलाई विद्यालय जान अल्छी लाग्न थाल्यो। बिस्तारै विद्यालयसँगको उनको सम्बन्ध टुट्यो। परिवारका सदस्यले पनि उनलाई फेरि विद्यालय पठाउन खासै चासो देखाएनन्। विद्यालयले समेत गाउँकै विद्यार्थी किन लामो समयदेखि अनुपस्थित छन् भनेर खोजी गरेन। न उनलाई विद्यालय फर्काउने प्रयास भयो न पढाइलाई निरन्तरता दिनुपर्छ भनेर कसैले सम्झाए। यसरी कक्षा ६ सम्म पुगेर उनको पढाइ रोकियो।

अहिले रदिकाको दैनिकी घरायसी काममै बित्छ। घरको काम सकिएपछि कहिलेकाहीं उनी अरूको खेतबारीमा ज्यालामजदुरी गर्न पनि जान्छिन्। विद्यालयको कक्षाकोठामा बसेर भविष्यको बाटो खोजी गर्नुपर्ने उनको समय घरधन्दा र खेतबारीको काममा बितिरहेको छ। पढाइ छाडेपछि के गर्ने, भविष्य कसरी बनाउने भन्ने विषयमा पनि उनीसँग केही जवाफ छैन। ‘अब विवाह गरेपछि श्रीमान्ले पाल्छन् होला नि,’ उनी भन्छिन्।

दुहबी–८ का १५ वर्षीय वैजनाथ ऋषिदेवले पनि कक्षा ७ को वार्षिक परीक्षा दिएर विद्यालय जान छाडेको दुई वर्ष भइसक्यो। पढाइ छाड्नुमा आमाको मृत्युलाई उनी मुख्य कारण मान्छन्। उनकी आमा चिनाको ३६ वर्षको उमेरमा तीन वर्षअघि मृत्यु भको थियो। आमाको मृत्युपछि बुबा सन्तोष ऋषिदेव भारतमा काम गर्न गए। वैजनाथ एक मात्र छोरा थिए। आमाको मृत्युपछि बुबा पनि भारत पसेपछि वैजनाथलाई के गर्ने र कसो गर्ने भन्ने भयो। सबै थोक आफैंले गर्नुपर्दा गाह्रो भएपछि अन्ततः उनले पढाइ छाडे। ‘पढ्न त मन लागेको थियो, आमाको मृत्युले मनै बिथोलियो,’ उनले भने, ‘सबै थोक आफैंले गर्नुपरेपछि पढ्ने माहोल नै भएन।’

उनले पढ्ने माहोल नभएको बताए पनि दिनको धेरै समय खेलेरै बिताउँछन्। साथीहरूसँग खेलिरहेको अवस्थामा भेटिएका उनी मादक पदार्थको लतमा समेत फसिसकेका छन्।  गुट्खा, चुरोट र खैनी सेवन उनका लागि सामान्य भइसकेको छ।

दुहवीकी अमृता ऋषिदेव पनि उमेरले १५ वर्ष पुगिन् तर उनको पढाइमा पूर्णविराम लागेको छ। कक्षा ३ पूरा गरेलगत्तै अमृताले पढाइ त्यागेकी हुन्। उनले पढाइ छाडेको दुई वर्ष भइसकेको छ। उनका भाइ विशाल भने कक्षा ५ मा अध्ययनरत छन्। आमा सीता र बुबा अर्जुन दुबई गएपछि अमृताले पढाइ त्यागेकी हुन्।  उनी भन्छिन्, ‘पढ्नै मन लाग्दैन।’

उनी अर्काका घरमा ज्यालादारी गर्न पनि जान्छिन्। फुर्सदको समय साथीसँग खेलेर बिताउँछिन्। कहिलेकाहीं नजिकै रहेका सिमसार, खेत तथा खोल्सामा माछा मार्न जान्छिन्।

गत सोमबार दिउँसो बस्तीनजिकै माछा मार्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘नपढेर के भो त घर चलाएकै छु।’

माछा मार्दैगर्दा गोजीबाट गुट्खा निकालेर खाँदै उनले भनिन्, ‘हाम्रो भिडियो कसैले खिच्न पाइँदैन।’ साथीभाइको संगतले उनको जीवनशैली फेरिएको छ। राति अबेरसम्म मदिरा सेवन गर्ने, बिहान अबेर उठ्ने र त्यसपछि ज्यालामजदुरी गर्न मन लागे जाने, नत्र घरमै बस्छिन् उनी। ‘जसरी पनि जीवन बिताउनु त हो नि, मेरोबारे अरूले चिन्ता लिनुपर्ने आवश्यकता छैन,’ उनले भनिन्।

तराईका जिल्लामा विपन्न दलित ऋषिदेव (मुसहर) समुदायको बाक्लो बसोबास छ। यो समुदायको शैक्षिक अवस्था पनि कमजोर छ। मुसहर समुदायका अभिभावकले छोराछोरीको पढाइप्रति खासै चासो नराखेकाले कतिपय बालबालिका विद्यालय जाँदैनन् भने विद्यालय गएकामध्ये पनि धेरैले आधारभूत तहबाटै पढाइ त्याग्ने गरेका छन्।

दुहबी–८ कै १४ वर्षीया नन्दनी ऋषिदेवले कक्षा ६ सकेपछि पढ्न मन नलागेर छाडिदिइन्। उनका दुई दाजुमध्ये जेठो ओमप्रकाशले कक्षा १२ सम्म पढेका छन्। अर्का दाजु जयले पढेकै छैनन्।  

ऋषिदेव बस्तीमा नगन्य घरबाहेक प्रायः हरेक घरमा औसत तीनजना छोराछोरी छन्। तीमध्ये करिब आधाले पढ्ने गरे पनि बाँकी विद्यालयबाहिर छन्। विराटनगरबाट विवाह गरेर दुहबी–८ को सोनापुर बस्तीमा आएकी २५ वर्षीया स्वास्थ्य स्वयंसेविका अस्मिता ऋषिदेवका अनुसार पढाइ त्याग्न हुँदैन भनेर पटकपटक अभियान चलाए पनि थुप्रै बालबालिका विद्यालय गएका छैनन्। ‘हाम्रो मुसहर टोलमा अहिलेसम्म कक्षा १२ भन्दा माथि पढेको रेकर्ड छैन,’ उनले भनिन्, ‘महिलामै यो टोल (वडा नं. ८ मुसहर) मा कक्षा १२ सम्म पढ्ने म र मेरी देउरानी छौं।’

छिमेकी बस्तीका महमद सफिरका अनुसार पहिला–पहिला मुसहर समुदायलाई हातमुख जोर्ने चिन्ताले छोराछोरीको पढाइप्रति ध्यान दिन कठिन भए पनि अचेल दैनिक गुजारा टार्न पहिला जस्तो समस्या छैन। प्रायः उमेर पुगेकाहरू कारखानामा काम गर्छन्। शनिबार र चाडपर्वका बेला बिदा हुन्छ।

‘काम गरेर कमाएको पैसा खाएरै सक्छन्। बचत गर्नुपर्छ, छोराछोरी पढाएर उनीहरूको भविष्य राम्रो बनाउनुपर्छ भनेर मुसहर समुदायका कसैको पनि योजना छैन,’ उनले भने।  उनका अनुसार मुसहर समुदायका धेरैजसो मानिस वर्तमानमै रमाउँछन्, भविष्यबारे सोच्दैनन्।  

मुसहर बस्तीका पाको उमेरका दिलचन्द ऋषिदेवले गाउँका पुरुष, महिला, बालबालिका कसैलाई पनि सम्झाएर नलाग्ने भएकाले अगुवाले समेत पढाउनेतर्फ खासै चासो नदिएको बताए। ‘गाउँ राम्रो होस्, गाउँका मान्छे राम्रा होउन् भन्ने चाहना सबैलाई हुन्छ,’ उनले भने, ‘कसैले भनेको यहाँ कसैले पनि टेर्दैन।’

मुसहर टोल शिक्षाको हिसाबले कमजोर छ। दुहबी नगरपालिकाका १२ वटै वडामा मुसहर समुदायको बसोबास छ तर यस समुदायका विद्यालय जाने उमेरका धेरै बालबालिका अझै शिक्षाको पहुँचबाहिर छन्। दुहबी नगरपालिका शिक्षा शाखा प्रमुख विकास घिमिरेका अनुसार नगर क्षेत्रभित्र विद्यालय जाने उमेर पुगेका मुसहर समुदायका दुई हजार बालबालिकामध्ये ६ सय जना विद्यालयबाहिर छन्।  विद्यालय भर्ना भएका केही बालबालिकाले समेत बिचमै पढाइ छाडेका छन्।  

मुसहर समुदायका बालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले कोसी प्रदेश सरकारले ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन गरिरहेको छ। अहिले विद्यालयबाहिर रहेका बालबालिकामा छोरीसँगै छोराको संख्या पनि उल्लेख्य छ। त्यसैले मुसहर समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन बालिकालक्षित कार्यक्रमसँगै बालकलाई समेत समेट्ने कार्यक्रम आवश्यक देखिएको छ।  

शिक्षा शाखा प्रमुख घिमिरेका अनुसार मुसहर समुदायका बालबालिकाको शैक्षिक अवस्था, विद्यालयबाहिर रहनुका कारण र पढाइ छाड्ने अवस्थाबारे नगरपालिकाले सूक्ष्म अध्ययनसमेत गरिरहेको छ तर उक्त अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी छ। दुहबीबाहेक अन्यत्र पनि मुसहर समुदायका बालबालिकाको शैक्षिक अवस्था कमजोर छ।  

मुसहर समुदायमा कलिलै उमेरमा विवाह गरिदिने चलनले पनि समस्या निम्त्याउने गरेको छ। दुहबी नगरपालिका–८ की चाँदनी ऋषिदेवको विवाह भएको चार वर्ष भइसकेको छ।  उनी अहिले १८ वर्षकी भइन् तर उनको विवाह हुँदा उमेर जम्मा १४ वर्ष थियो। जुन उमेरमा उनी विद्यालयमा बसेर अक्षर चिन्ने, साथीहरूसँग रमाउने र भविष्यका सपना बुन्ने अवस्थामा थिइन्, त्यही उमेरमा उनको सिउँदोमा सिन्दूर भरियो।  चाँदनीलाई त्यतिबेला विवाह भनेको के हो, पति भनेको के हो र विवाहपछि जीवन कसरी अघि बढ्छ भन्नेबारे खासै ज्ञान थिएन। घरपरिवारले विवाह गर्नुपर्छ भनेपछि उनले अस्वीकार गर्न सकिनन्। आफ्नो इच्छाभन्दा परिवारको निर्णय ठुलो भयो।  बालापनमै उनी वैवाहिक जीवनमा बाँधिइन्।  उनका पति ग्यास कारखानामा काम गर्छन्।

 चाँदनीको दैनिकी घरायसी कामकाजमै बित्छ। उनले कक्षा ३ सम्म पढेकी छन्। त्यसपछि पढाइ छुट्यो र जीवनको बाटो नै अर्कोतिर मोडियो तर समय बित्दै जाँदा उनलाई पढाइको महत्त्व महसुस हुन थालेको छ।  सानै उमेरमा विवाह गरेर घरव्यवहारमा अल्झिएकी चाँदनीलाई अहिले विद्यालय जान पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ। आफूले पढ्न नपाएकोमा उनलाई पछुतो छ। ‘यतिबेला चाहिँ पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ,’ उनी भन्छिन्। विवाह के हो भन्ने नबुझी वैवाहिक जीवनमा प्रवेश गरेकी चाँदनीले अहिले शिक्षाको महत्त्व बुझ्न थालेकी छन्  तर उनलाई फेरि पढ्न सहज छैन।  

सोही बस्तीकी लक्ष्मी ऋषिदेवको पनि कलिलै उमेरमा विवाह भयो। उनको विवाह चार वर्षअघि नै भएको हो। अहिले २० वर्षमा हिँड्दै गरेकी उनका एक छोरा छन्। उनलाई पनि पढाइ छाडेर विवाह गरेकोमा पछुतो छ।  उनी भन्छिन्, ‘आफूले पढ्न नपाए पनि छोराछोरीलाई भने पढाउँछु।’

सुनसरीको दुहबी नगरपालिकाबाहेक, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, इटहरी उपमहानगरपालिका, गढी गाउँपालिका (विशेषगरी वडा नम्बर २ र आसपास),भाेक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिकाका किनारी तथा ऐलानी क्षेत्रहरूमा मुसहरका एकीकृत बस्ती (मुसहरी टोल) छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार सुनसरीको कुल जनसंख्या नौ लाख ३४ हजार ४६१ छ। जसमा मुसहर समुदायको जनसंख्या ३.३९ प्रतिशत छ। 

प्रकाशित: १४ कार्तिक २०८३ ०८:२९ शनिबार