बाढीप्रभावित रसुवा र धादिङका ४६ बालबालिकाले आमाबुवा तथा अभिभावक गुमाएका छन्। अभिभावकविहीन बनेका यी बालबालिका अहिले सुरक्षाका दृष्टिले उच्च जोखिममा रहेको स्थलगत अध्ययनमा खटिएका सरकारी अधिकारीहरूले बताएका छन्।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा र धादिङका घर, बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा सार्वजनिक संरचनासँगै विद्यालयमा समेत ठुलो क्षति पुर्याएको छ। बाढीले तीन जिल्लाका दुई दर्जनभन्दा बढी विद्यालयमा क्षति पुर्याएको स्थलगत अध्ययनबाट देखिएको छ।
विद्यालय र बालबालिकाको अवस्थाबारे यकिन विवरण संकलन गर्न शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका तीन निर्देशकको संयोजकत्वमा छुट्टाछुट्टै टोली तीन जिल्लामा पुगेका थिए। टोलीले संकलन गरेको प्रारम्भिक विवरणअनुसार ४६ विद्यार्थी अभिभावकविहीन छन्।
५०४ विद्यार्थी सम्पर्कविहीन छन्। पाँच विद्यार्थी मृत फेला परेका छन्। अध्ययन टोलीले अभिभावक गुमाएका तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको सुरक्षा अवस्था निकै संवेदनशील रहेको जनाएको छ।
‘बेचबिखनको उच्च जोखिममा बालबालिका’
रसुवा पुगेका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा. श्याम आचार्यका अनुसार त्यहाँ विद्यालयहरू जोगिए पनि धेरै विद्यार्थी सम्पर्कविहीन छन्। ‘रसुवामा विद्यालय त बचेका छन् तर २८१ बालबालिका सम्पर्कविहीन छन्। ३९ बालबालिकाले आमाबुवा तथा अभिभावक गुमाएको तथ्यांक संकलन भएको छ,’ उनले भने।
स्थलगत निरीक्षणका क्रममा अवस्था निकै संवेदनशील देखिएको उनले बताए। यसैगरी केन्द्रका निर्देशक निमप्रकाश राठौरका अनुसार धादिङका सात विद्यार्थीले अभिभावक गुमाएका छन्। यसरी रसुवा र धादिङ गरी अभिभावक गुमाउने ४६ बालबालिका उच्च जोखिममा छन्।
‘हामी अध्ययनस्थलमै हुँदा दिनहुँ नयाँनयाँ व्यक्ति आउने र अभिभावकविहीन तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई कक्षा १२ सम्म पढाइदिने, खानबस्न दिने भन्दै फकाउने गरेका थिए,’ निर्देशक आचार्यले भने।
यस्तो अवस्थाले बालबालिका बेचबिखन तथा बालश्रमको उच्च जोखिममा पर्न सक्ने चिन्ता जन्माएको उनले बताए। ‘हाम्रो चिन्ता भनेको यी बालबालिका बेचबिखनको उच्च जोखिममा पर्लान् र बाल मजदुर बनाइएलान् भन्ने हो,’ उनले भने, ‘यसकारण सरकारले यस्ता अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै सुरक्षित छात्रावासमा राखेर पठनपाठनको तत्काल व्यवस्था गर्नुपर्छ।’
आचार्यको नेतृत्वमा युनिसेफ, सेभ द चिल्ड्रेन तथा नेपाल सरकारका इन्जिनियरसहितको टोलीले रसुवामा स्थलगत विवरण संकलन गरेको हो। टोलीले सुझावसहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाउने तयारी गरेको आचार्यले बताए।
विद्यालय बगरमा परिणत, शिक्षकसमेत सम्पर्कविहीन
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका तीन विद्यालय तथा उत्तरगया गाउँपालिकाको एक निजी विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती विद्यालय बाढीले बगाएर बगरमा परिणत भएका छन्। बाढीमा १६ शिक्षक र एक कर्मचारीसमेत सम्पर्कविहीन रहेको आचार्यले बताए।
एक शिक्षकको शव पहिचान गरी दाहसंस्कार गरिएको आचार्यले जानकारी दिए। ‘रसुवाका तीन वटै बजार बेत्रावती, स्याफ्रुबेंसी र टिमुरे बाढीका कारण बगर बनेका छन्,’ आचार्यले भने, ‘यस्तो अवस्थामा अस्थायी सिकाइ केन्द्र (टिएलसी) बनाएर पढाउने अवस्था छैन। बाँचेका बालबालिका पनि बेचबिखनको उच्च जोखिममा छन्।’
उनका अनुसार अहिले राज्यले बालबालिकाका लागि तत्काल सुरक्षित छात्रावाससहितको व्यवस्थापन गर्नु आवश्यक छ। ‘बच्चा खोज्न पनि स्कुल पुनः सञ्चालन हुनु अत्यन्त आवश्यक छ,’ उनले भने।
विनाशकारी बाढीका कारण नुवाकोटमा २२३ र रसुवामा २८१ गरी ५०४ बालबालिका सम्पर्कविहीन रहेको स्थलगत अध्ययनबाट देखिएको छ। पाँच विद्यार्थी मृत फेला परेका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक जीवन भण्डारी नेतृत्वको टोलीले संकलन गरेको विवरणअनुसार नुवाकोटको उत्तरगया बोर्डिङ स्कुलका ६० छात्रा र ७१ छात्र गरी १३१ जना सम्पर्कविहीन छन् भने एक छात्रा र चार छात्र गरी पाँच जना मृत फेला परेका छन्। सोही विद्यालयका १० शिक्षकसमेत सम्पर्कविहीन रहेको उनले जानकारी दिए।
नुवाकोटवाकै बेत्रावतीस्थित रामचन्द्र आधारभूत विद्यालयका ४४ छात्रा र ३५ छात्र गरी ७९ जना सम्पर्कविहीन छन्। यस विद्यालयका विद्यार्थी भदौ १० गते बिहान स्कुल बसमा विद्यालय आउने क्रममा बाढीमा परेका थिए। ‘विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू अझै बोल्न सक्ने अवस्थामा हुनु हुन्न,’ निर्देशक भण्डारीले भने, ‘कति शिक्षक र कति विद्यार्थी हराए भन्ने कुरा यकिन हुन बाँकी छ।’
त्यसैगरी नुवाकोटको तुप्चेस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका १२ विद्यार्थी तथा नुवाकोटकै त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका एक विद्यार्थीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। ‘नुवाकोटका चार विद्यालय पूर्ण रूपमा बाढीले बगाएका छन्,’ निर्देशक भण्डारीले भने, ‘नुवाकोटबाट मात्रै २२३ विद्यार्थी सम्पर्कविहीन छन्।’
यसैगरी रसुवामा २८१ बालबालिका सम्पर्कविहीन भएका छन्। निर्देशक डा. श्याम आचार्यका अनुसार रसुवाको उत्तरगयास्थित नीलकण्ठ माध्यमिक विद्यालयमा मात्रै ५०८ विद्यार्थी अध्ययनरत थिए। तीमध्ये २०० विद्यार्थी सम्पर्कविहीन रहेको उनले बताए। बाँकी ८१ जना अन्य विभिन्न विद्यालयका रहेको बताइएको छ। ‘क्षति भएका एक दर्जन विद्यालयका २८१ बालबालिका सम्पर्कविहीन छन्,’ आचार्यले भने, ‘रसुवामा केही विद्यालय सुरक्षित छन्। नीलकण्ठ माध्यमिक विद्यालय सुरक्षित छ। यही विद्यालयमा अब पठनपाठनको व्यवस्था गर्न सकिन्छ।’
उनका अनुसार रसुवाका नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मालिक आधारभूत विद्यालय, चिप्लेटी आधारभूत विद्यालय र मोर्डन ट्रिनिटी बोर्डिङ स्कुल गरी चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
विद्यालय बनाउने कि सुरक्षित ठाउँमा सार्ने?
बाढीले क्षतिग्रस्त विद्यालयलाई पुरानै ठाउँमा पुनर्निर्माण गर्ने कि सुरक्षित स्थानमा सार्ने भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ। वर्षौंदेखि सञ्चालनमा रहेका विद्यालय समुदाय, विद्यार्थी र अभिभावकका लागि सहज स्थानमा हुन सक्छन् तर नदीकटान, बाढी र पहिरोको जोखिम बढेको ठाउँमा पुनः त्यही स्थानमा विद्यालय बनाउँदा भविष्यमा फेरि क्षति हुने जोखिम रहन्छ। त्यसैले विद्यालय पुनर्निर्माण गर्नुअघि प्रत्येक विद्यालयको भौगोलिक तथा विपद् जोखिम मूल्यांकन गर्नुपर्ने निर्देशक भण्डारीको सुझाव छ। ‘हामी फेरि जोखिमपूर्ण स्थानका विद्यालयमा पढ्न चाहन्नौं,’ उनले विद्यार्थीको भनाइ उद्धृत गर्दै भने, ‘बाढीमा बगेको बेत्रावती बस्ती पुनर्निर्माण गर्ने अठोट नुवाकोटवासीले गरिरहेका छन् तर उत्तरगयामा स्कुल बन्न सक्ने अवस्था छैन।’
उनले बालबालिकाका अभिभावकले पनि जोखिम रहेको ठाउँका विद्यालयमा आफ्ना सन्तानलाई पढाउन पठाउन नसक्ने बताएको जानकारी दिए। उनले विद्यार्थी र अभिभावक त्रसित रहेकाले सुरक्षित स्थानमा विद्यालय निर्माण गर्नुपर्नेमा जोड दिए।
धादिङ पनि प्रभावित
धादिङमा समेत बाढी र नदी कटानले विद्यालयमा क्षति पुर्याएको छ। गल्छीमा रहेको अमलेश्वर गुरुकुल, बागेश्वरी माध्यमिक विद्यालय तथा बेनीघाटको बुद्धिविकास विद्यालयलगायत प्रभावित भएका छन्। धादिङ पुगेका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश राठौरका अनुसार जिल्लामा सात विद्यार्थीले अभिभावक गुमाएका छन्। ‘अमलेश्वर गुरुकुल सञ्चालन गर्न सक्ने अवस्था छैन। नदी कटान भइरहेको छ। विद्यालय यही स्थानमा सञ्चालन गर्नु जोखिमपूर्ण छ,’ राठौरले भने। उनका अनुसार बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर पढाइ पुनःसञ्चालन गर्न आवश्यक छ।
विद्यालयमा होल्डिङ सेन्टर, पढाइमा चुनौती
विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिक बिस्तारै सामान्य अवस्थामा फर्किन थाले पनि विद्यालय सञ्चालन भने अझै चुनौतीपूर्ण रहेको स्थलगत निरीक्षणमा पुगेका सरकारी अधिकारीहरूले बताएका छन्। बालबालिका र अभिभावक सुरक्षित रूपमा विद्यालय पठाउन चाहिरहेका छन् तर क्षतिग्रस्त विद्यालयसँगै सुरक्षित रहेका कतिपय विद्यालयलाई समेत सरकारले होल्डिङ सेन्टरका रूपमा प्रयोग गरेपछि पठनपाठन सञ्चालनमा थप समस्या भएको निर्देशक भण्डारीले बताए। ‘नुवाकोटका २३ होल्डिङ सेन्टरमध्ये १३ वटा त विद्यालयमै छन्,’ भण्डारीले भने, ‘क्षति भएको विद्यालयमा पढाइ सुरु गर्ने अवस्था छैन। सुरक्षित रहेका विद्यालयमा पनि होल्डिङ सेन्टर छन्।’
उनका अनुसार अस्थायी सिकाइ केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री तयार भए पनि तत्काल सञ्चालन गर्न कठिनाइ छ। ‘अस्थायी सिकाइ केन्द्रका लागि सबै सामग्री तयार छ। शिक्षणसिकाइ किटसमेत तयार छ। अब रोकिएको पढाइलाई कसरी निरन्तरता दिने भन्ने ठुलो चुनौती छ,’ उनले भने। यस्तै अवस्था रसुवा र धादिङमा पनि रहेको टोलीले जनाएको छ।
मनोसामाजिक सहयोग पहिलो प्राथमिकता
बाढीबाट अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका तथा विस्थापित बालबालिकाको मनोसामाजिक अवस्थालाई पनि तत्काल सम्बोधन गर्नुपर्ने देखिएको छ। आमा–बुवा गुमाएका बालबालिकालाई सुरक्षित आवास, शिक्षा, स्वास्थ्य तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको अध्ययन टोलीको भनाइ छ। अभिभावकविहीन बालबालिकालाई अनधिकृत व्यक्तिको जिम्मा लगाउनेभन्दा राज्यको प्रत्यक्ष निगरानीमा सुरक्षित व्यवस्थापन गर्नुपर्ने सुझाव टोलीको छ।
बाढीपछि केही विद्यालय तत्काल सञ्चालन गर्न सकिने अवस्थामा छैनन्। कतिपय विद्यालयका भवन क्षतिग्रस्त हुनुका साथै सडक र पुलसमेत बगेका छन्। कतिपय विद्यालय तथा सार्वजनिक संरचना बाढी प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन्।
यस्तो अवस्थामा स्थायी भवन निर्माणमा समय लाग्ने भएकाले सरकारले अस्थायी सिकाइ केन्द्र, वैकल्पिक कक्षा वा नजिकका सुरक्षित विद्यालयमा पठनपाठनको व्यवस्था तत्काल गर्नुपर्ने निर्देशक भण्डारीको सुझाव छ।
प्रकाशित: २२ भाद्र २०८३ १०:१९ सोमबार