तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ। देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
काफलडाँडास्थित भित्री सडक खण्डमा नारायणघाटबाट सिङ्तानतर्फ जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परी देवघाट–१ कोटाका ३० वर्षीय ट्याक्टर चालक विष्णु माझी घाइते भएका छन्। उनले भने, 'चालक माझीको मुख, नाक र छातीमा चोट लागेको छ, भने अवस्था मध्यम रहेको छ। चालकले नियन्त्रण गुमाउँदा सडकबाट ट्याक्टर करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो।' रासस
प्रकाशित: १७ चैत्र २०८२ २०:०८ मंगलबार