जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल, रेस्टुरेन्ट, क्लब, डिस्कोलगायत रात्रिकालीन मनोरञ्जन व्यवसाय राति १० बजेपछि बन्द गर्न निर्देशन दिएको छ। रात्रिकालीन व्यवसायलाई व्यवस्थित, सुरक्षित र जवाफदेही बनाउने उद्देश्यले प्रशासनले एकीकृत मापदण्ड तयार नहुँदासम्मका लागि यस्तो व्यवस्था लागू गरेको हो।
जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सरोकारवाला निकायहरूको छलफलले रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी एकीकृत मापदण्ड तयार गरी लागू गर्ने निर्णय गरेको छ। मापदण्ड पूर्ण रूपमा तयार नहुँदासम्म व्यवसाय सञ्चालनका लागि विभिन्न सर्तसमेत तोकिएका छन्।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार होटल तथा अन्य व्यवसायले राति १० बजेभित्र प्रवेशद्वार बन्द गर्नुपर्नेछ भने १०ः३० बजेसम्म सबै ग्राहकलाई परिसरबाट बिदा गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
निर्णयअनुसार मादक पदार्थ सेवन गरेका सेवाग्राहीले आफैं सवारीसाधन चलाएर होटल वा व्यवसायिक परिसरबाट बाहिरिन नपाउने व्यवस्था मिलाउनुपर्नेछ। उनीहरूको सुरक्षाका लागि सम्बन्धित व्यवसायीले सुरक्षित यातायात अर्थात् ‘ड्रप’को व्यवस्था गर्नुपर्नेछ।
यस्तै, व्यवसायिक परिसरमा ध्वनि प्रदूषण हुन नदिन आवश्यक सावधानी अपनाउनुपर्ने र प्रवेशद्वार तथा वरपरको क्षेत्रमा कम्तीमा ३० दिनसम्मको रेकर्ड सुरक्षित रहने गरी सीसीटीभी क्यामेरा जडान गर्नुपर्नेछ।
कर्मचारीलाई अनिवार्य नियुक्तिपत्र दिनुपर्ने, बैंकिङ प्रणालीमार्फत न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधा उपलब्ध गराउनुपर्ने र जोखिम बीमाको व्यवस्था गर्नुपर्ने निर्णय पनि गरिएको छ। रातिको समयमा काम गर्ने महिला कर्मचारीका लागि सुरक्षित यातायात र खानाको प्रबन्ध गर्नुपर्नेछ।
प्रशासनले १८ वर्षमुनिका बालबालिकालाई डान्सबार, क्लब, डिस्कोथेक तथा लाउन्जमा प्रवेश निषेध गर्ने तथा उनीहरूलाई मदिरा बिक्री गर्न नपाइने व्यवस्था पनि गरेको छ।
मापदण्डको कार्यान्वयन र अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय तह र होटल व्यवसायी संघका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिने भएको छ। मापदण्ड उल्लंघन गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
विदेशी नागरिकको हकमा राहदानीको विवरण र नेपाली नागरिकको परिचय खुल्ने विवरण राखेर मात्र होटल बुकिङ गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
मुख्यमन्त्री कार्कीको आपत्ति
यता, राति १० बजेपछि होटल तथा रेस्टुरेन्ट बन्द गर्ने प्रशासनको निर्देशनप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आपत्ति जनाएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले पर्यटन तथा यात्रुको आवागमनलाई ध्यान नदिई यस्तो निर्णय गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
नेपाल विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले पर्यटक तथा यात्रु जुनसुकै समयमा पनि आउन–जान सक्ने मुख्यमन्त्री कार्कीको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा रहने तथा घरेलु विमानस्थलबाट पनि रातिसम्म उडान र अवतरण हुने अवस्थामा होटल तथा रेस्टुरेन्ट निश्चित समयपछि बन्द गराउने निर्णय व्यावहारिक नभएको उनले बताएका छन्।
सडक विस्तार र स्तरोन्नतिसँगै नागरिक तथा पर्यटक जुनसुकै समयमा यात्रा गर्न सक्ने उल्लेख गर्दै उनले छिमेकी भारतका सीमावर्ती सहरका विमानस्थलमा साँझ अवतरण गरी नेपाल आउने पर्यटकलाई कसरी सेवा दिने भन्ने प्रश्न गरेका छन्।
‘सीमावर्ती भारतीय विमानस्थलमा ओर्लिएका पर्यटक वा यात्रु हाम्रा सहरमा राति १० बजेदेखि बिहानसम्म आइपुगे भने के भन्ने ? तपाईंहरू हाम्रो देश वा सहर नआउनुस् भन्ने हो ? वा हाम्रै देशभित्र सडक यातायातबाट राति आइपुग्ने व्यक्तिलाई बस वा गाडीमै बस्नुस्, गाडीबाट नओर्लिनुस् भन्ने हो ?’ कार्कीले प्रश्न गरेका छन्।
स्थानीय प्रशासन र सुरक्षा निकायले पर्यटक तथा नागरिकलाई २४ घण्टै सेवा र सुरक्षा दिनुपर्ने उनको धारणा छ। ‘राज्यले दिउँसो मात्रै सुरक्षा हुन्छ, राति हुँदैन वा दिन्न भन्न मिल्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
मुख्यमन्त्री कार्कीले यस्ता विषयमा निर्णय लिनुअघि स्थानीय र प्रदेश सरकारसँग समेत आवश्यक समन्वय र परामर्श गर्न सुझाव दिएका छन्। स्थानीय प्रशासनले यस्ता सूचना सार्वजनिक गर्नुअघि त्यसको प्रभाव र व्यावहारिक पक्षबारे गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: १६ कार्तिक २०८३ १६:२३ सोमबार