कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजीका नाममा अपराधिक व्यक्ति र समूहले सरकारी तथा व्यक्तिगत संरचनाहरुमा आगजनी, लुटपाट र तोडफोड गरिएको भन्दै यो अक्षम्य अपराध भएको बताएका छन् । उनले लुटपाट, आगजनी र तोडफोडमा संलग्नहरुलाई व्यक्तिगत रुपमा अग्रसर भएर कारबाहीको दायरामा ल्याइनुपर्ने बताए ।
‘मेरो घर पनि जलाइएको छ, लुटपाट गरिएको छ,’ आइतबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले भने, ‘म आफैले संलग्नहरुलाई कारबाही गरिदिन जिल्ला प्रशासन कार्यालयलाई लेखेर पठाएको छु ।’ उनले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा भनिएको छ, ‘भाद्र २४ गते अज्ञात समूहले मेरो घर तोडफोड, आगजनी र लुटपाट गरेको हुनाले आवश्यक प्रक्रिया पूरा गरी क्षतिको मूल्याङ्कन र कारबाहीका लागि अनुरोध गर्दछु ।’
उनले मुख्यमन्त्री भइरहेकोले आफ्नो नामबाट भन्दापनि अरुको नामबाट निवेदन दिन सुझाव आएपनि आफ्नो नामको घर जल्दा कारबाहीका लागि पनि आफै अग्रसर हुनुपर्छ भन्ने लागेर आफै प्रहरीलाई पत्र पठाएको बताए ।
एक वर्षदेखि मुख्यमन्त्री कँडेल सरकारी निवासमा थिए । वीरेन्द्रनगर–४ स्थित भैरवस्थानको निजी निवासमा उनका बृद्ध बुवा मात्रै बस्थे । घर जलेको छ दिनपछि पुगेका कँडेललाई बुवाले अंगालो हालेर रुँदाको दृष्य हृदयविदारक थियो । ‘जीवनमा पहिलोपटक बुवाको यस्तो अवस्था अनुभूति गरेँ,’ उनले भने ।
उनले आफूले गल्ती गरेको भए त्यसको सजाय भोग्न तयार भएपनि आफू अपराधीजस्तो र सबै दर्शकजस्तो देखिएको गुनासो गरे । ‘व्यक्तिगत रुपमा मैले केही गरेको भए मलाई सजाय दिने ठाउँ छ, आफू अपराधी भएजस्तो, सबै दर्शक भएजस्तो देखाउन खोजियो,’ उनले भने, ‘कर्णाली, सुर्खेतलाई यो ठाउँसम्म पु¥याउन धेरैको योगदान छ, त्यसमा हाम्रो पनि योगदान छ ।’
उनले अहिलेको समाज प्रतिशोधवाला देखिएको बताउँदै दुई दिनको आन्दोलनले माओवादी द्वन्द्वकालको १० वर्षे युद्ध भन्दापनि धेरै विनास गरेको बताए । उनले पुरातात्विक महत्वका संरचना र अभिलेखका हिसावले नेपालले अपुरणीय क्षति व्यहोरेको बताए । ‘खासगरी जेनजीलाई अदालतमा आगो बाल्नपर्ने केही कारण थिएन्, कुनै मुद्दा थिएन्,’ उनले भने, ‘यसबाट पनि जेनजीका नाममा भचएको आन्दोलनको उद्देश्य अरुको थियो ।’
मुख्यमन्त्री कँडेलले जेनजीका नाममा पेट्रोल बम बोकेर आन्दोलन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए । उनले भद्रकालीमा प्रधानमन्त्री छनोट गरेर सुशासन नआउने बताउँदै देशमा राजनीतिक दलहरुको विकल्प नभएको बताए । ‘एउटा सुसंगठित र प्रशिक्षित पार्टीले पार्टीले सत्ता चलाउँदा त यो अवस्था छ, भद्रकालीमा प्रधानमन्त्री छनोट गरेर सुशासन चल्ने कुरा हुन्छ र !,’ उनले भने, ‘पुस्तान्तरण हो भने ७२ वर्षको सुशीला कार्कीले जेनजेडको भावनाको प्रतिनिधित्व गर्न सक्ने अवस्था रहन्छ र ! यो त दुई तीन महिनामा देखा परिहाल्छ ।’
उनले अहिले पनि तीन वटा पार्टीमा सचेत जनमतको उल्लेखनीय हिस्सा छ रहेको बताउँदै तीन दल मिल्दा जेनजीका नाममा विध्वंश कहीँ नदेखिने बताए । ‘हिजो तीन दल मिलेका हुन् फेरि पनि मिलेर आए भने जेनजी भन्ने कोही देखिन्नन्,’ उनले भने, ‘देश चलाउने कुरा, शासन चलाउने कुरा, समाजलाई विश्वास गर्ने कुरा उमेरले मात्रै हुँदैन् ।’ उनले सत्तामा हुँदा कतिपय राम्रो काम नहुँदा जनतामा निराशा छाएको बताउँदै अव त्यसलाई चिर्ने गरेर काम गर्नुपर्ने बताए ।
मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनमा लाग्न कर्मचारीहरुलाई दिर्नेशन दिइएको बताए । ‘मन्त्री र सचिवहरुलाई राखेर यो एक हप्ता जेजस्तो भएपनि बजेट कार्यान्वयनका लागि जिल्लामा उपस्थित भएर काम गर्न निर्देशन दिएको छु,’ उनले भने । उनले प्रदेश खारेज हुने हल्ला गरिएको बताउँदै उनले भने, ‘विघठन भए आफ्नो बाटो कहाँ छ त्यति बेलानै गरम्ला । तर रहँदासम्म काम गर्नुहोस् ।’
उनले सुर्खेतमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालय र नेताहरुका घरमाथि मात्रै आक्रमण भएको बताए । ‘यी तीन पार्टी बलियो हुँदा समाज बलियो हुन्छ,’ उनले भने, ‘यी पार्टीलाई कमजोर बनाएर समाजलाई कमजोर बनाउने खेल हुँदैछ ।’
प्रकाशित: २९ भाद्र २०८२ १८:०९ आइतबार