समाज

भ्रष्टाचार आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकामा बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्ष  प्रकाशबहादुर साउदसहित ४ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। 

गाउँपालिकाका अध्यक्ष साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह, लेखापाल विमल साउद तथा एक सञ्चार संस्थासँग सम्बन्धित व्यक्ति सहितले मिलेमतोमा करिब १२ लाख ७७ हजार २५० रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।

आयोगका अनुसार प्रचलित कानुनबमोजिम लागत अनुमान, खरिद आवश्यकताको पहिचान तथा खरिद प्रक्रिया तयारी नगरी आपसी मिलेमतोमा चलचित्र निर्माणको नाममा खरिद सम्झौता गरी भुक्तानीसमेत दिइएको पाइएको छ। उक्त कार्यले सार्वजनिक स्रोतको दुरुपयोग भई भ्रष्टाचारजन्य कसुर भएको आयोगको निष्कर्ष छ। 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो १२ लाख ७७ हजार २५० रुपैयाँ कायम गरी कैद तथा जरिवानाको मागदाबी गरेको छ। त्यसैगरी मुख्य प्रतिवादी प्रकाशबहादुर साउदलाई ऐनको दफा २४ बमोजिम थप सजायको मागसमेत गरिएको आयोगले जनाएको छ। 

प्रकाशित: ५ चैत्र २०८२ १८:३४ बिहीबार