समाज

सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य महासंघको प्रदेश र संघका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् ।  

आइतबार नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको आठौँ प्रदेशसभा तथा निर्वाचन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।  

ढकालले हरेक आन्दोलनका निजी क्षेत्र आन्दोलनकारीको निशानामा पर्ने गरेको भन्दै यस्तो हुन नदिन सरकारले उद्योग व्यवसायप्रतिको दृष्टिकोण बदल्न आवश्यक रहेको बताए । उनले करिब दुई तिहाइ बहुमतको नयाँ सरकारले उद्योग, व्यवसायलाई शान्ति क्षेत्रका रूपमा राख्नेमा आफूहरू विश्वस्त रहेको धारणा राखे । उनले भने, ‘नयाँ गठन भएको सरकारले पहिलो एक सय दिने कार्यसूचीमा नै निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको मागलाई सम्बोधन गर्ने गरी आफ्नो कार्यक्रममा समावेश गरेका कारण यो सरकारले निजी क्षेत्रको समस्या समाधान गर्नेमा विश्वस्त छौँ ।’  

अध्यक्ष ढकालले आफ्नो तीन बर्से कार्यकाल निक्कै उपलब्धिमूलक भएको दाबी गरे । उनले अख्तियारलाई निजी क्षेत्र हेर्ने जिम्मेवारी दिन नहुने, पुराना अव्यवहारिक ऐन, कानुनहरू परिमार्जन गर्नुपर्ने लगायतका विषयमा आफ्नो कार्यकालमा उल्लेख्य काम भएको बताए ।  

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन शाक्यले नेपालका उद्योगी व्यवसायीहरूले व्यावसायिक वातावरण खोजेको धारणा राखे । उनले नयाँ सरकारले व्यावसायिक वातावरण निर्माण गर्नेमा आफूहरू आशावादी रहेको बताए । कर तिर्न, व्यवसाय सञ्चालन गर्न झन्झटिलो प्रावधान हटाएर सरल बनाउनुपर्ने उनले बताए । शाक्यले उद्योगमा बाधा पुर्याउने नियम खारेज गर्न र आफ्नो पार्टीले चुनाव अघि  गरेको बाचा पुरा गर्न सरकारलाई आग्रह पनि गरे ।  

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले हाल देशको अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि देशभित्र र बाहिर उत्पन्न परिस्थितिका कारण थप अन्यौलता र चुनौतीको सामना गर्नुपर्ने अवस्था आइपरेको बताए । देशमा स्थिर सरकार गठन भएसँगै अस्थिर नीति र सरकार परिवर्तनसँगै निजी क्षेत्र प्रतिको बदलिँदो दृष्टिकोणका कारण उत्पन्न हुने गरेको समस्या समाधान हुनेमा आफूहरू आशावादी रहेको उनले बताए ।  

आइतबार देखि सुरु भएको  नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको आगामी कार्यकालको अध्यक्षमा राजेन्द्र राउत र नविन रिजालले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित: २२ चैत्र २०८२ १८:५१ आइतबार