समाज

मधेसको ‘लाइफलाइन’ बैलगाडा: कृषि उत्पादन ओसार्न गाउँमा अझै गोरुकै भर

अत्याधुनिक कृषि औजार र आधुनिक यातायातका साधनको विकास भए पनि मधेसका ग्रामीण भेगमा खेतबारीबाट बाली भित्र्याउन किसानका लागि अझै पनि बैलगाडा नै निर्विकल्प सारथि बनिरहेको छ।

सप्तरीसहित तराई-मधेसका भित्री ग्रामीण बस्तीमा मुख्य अन्नबाली धान, मकै र गहुँ खेतबारीबाट घर पुर्‍याउन किसानहरू परम्परागत गोरुगाडामै निर्भर छन्।

सुगम र सहरी क्षेत्रमा खेत जोत्न, माटो सम्याउन र पराल दाइँ गर्न आधुनिक ट्याक्टरको दबदबा बढे पनि ग्रामीण भेगमा भने बैलगाडाको आवश्यकता र प्रभाव अझै घटेको छैन।

उखु, धान, पराल, मल, रहरी, चना र तोरीजस्ता कृषि उपज ओसारपसार गर्नदेखि कुटानी-पिसानीका अन्न मिलसम्म पुर्‍याउन किसानका लागि यो साधन सबैभन्दा सहज माध्यम बनेको छ।

महदेवा गाउँपालिका-५ भगपतपुरका दशरथ मण्डल पुर्खादेखि चलिआएको बैलगाडाको परम्परालाई अहिले पनि निरन्तरता दिइरहेका छन्।

‘मलाई सम्झना भएदेखि नै घरमा बैलगाडा छ,’ मण्डल भन्छन्, ‘दुई दशकअघिसम्म टोलका अधिकांश घरमा दुई वटा गोरु र बैलगाडा अनिवार्य हुन्थ्यो। यात्रा गर्न, भारी ओसार्न मात्र होइन, जन्ती जान र बेहुली ल्याउन समेत बैलगाडाकै प्रयोग गरिन्थ्यो।’

प्रविधिको महँगो खर्च धान्न नसक्ने साना किसानका लागि अझै पनि गोरु नै मुख्य सहारा हुन्। तराईका अधिकांश ग्रामीण भेगमा खेत जोत्न, पाटा लगाउन र पराल दाइँ गर्न गोरुकै प्रयोग हुँदै आएको राजविराज नगरपालिका-१३ का किशुनदेव यादव बताउँछन्।

आधुनिक मेसिनभन्दा घरमै पालिएका गोरु र काठको गाडा किसानका लागि आर्थिक रूपमा समेत किफायती मानिन्छ।

बैलगाडा ढुवानीको साधन मात्र नभई मधेसको मौलिकता र सांस्कृतिक पहिचानको प्रतीक समेत रहेको तिरहुत गाउँपालिका गोइठीकी मेरिना देवको बुझाइ छ।

‘विगतमा ग्रामीण क्षेत्रको ऐतिहासिक र महत्त्वपूर्ण सवारीका रूपमा बैलगाडाको प्रतिष्ठा बेग्लै थियो,’ उनले भनिन्, ‘वर्षातको तुलनामा हिउँद महिनामा खेतबारीबाट बाली ओसार्न यसको प्रयोग झनै व्यापक हुने गर्दछ।’

प्रकाशित: १० कार्तिक २०८३ १९:२९ मंगलबार