बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान प्रभावकारी बनाउन शनिबार बिहान इटहरीमा सचेतनामूलक कार र्याली गरिएको छ।
इटहरीका ग्रामीण क्षेत्रका बालबालिका पोलियो थोपा खुवाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले रोटरी क्लब अफ इटहरीको आयोजनामा कार र्याली निकालिएको हो। इटहरीका २० वटै वडामा पोलियो खोपसम्बन्धी सन्देश एकैपटक पुर्याउने उद्देश्यले र्याली आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष चेतन धमलाले बताए।
उनका अनुसार इटहरीका धेरैजसो वडा ग्रामीण क्षेत्रमा पर्ने भएकाले धेरैभन्दा धेरै बालबालिका र अभिभावकसम्म खोपसम्बन्धी सूचना पुर्याउन र्याली प्रभावकारी हुने विश्वास गरिएको छ।
इटहरी वडा नं. ९ स्थित साथी फ्युल पेट्रोल पम्पअगाडिबाट सुरु भएको र्याली वडा नं. ६ को मुख्य बजार, वडा नं. ४ र १ हुँदै वडा नं. २० को सीमाबाट पूर्वतर्फ लागेर वडा नं. २ र ३ मा रहेको पर्यटकीयस्थल तालतलैयासम्म पुगेको थियो। त्यसपछि र्याली पुनः फर्किएको थियो।
छोटो समयमा अनि सबै जना दसैँको चटारोमा रहेका बेला धेरै वडाका बालबालिका र अभिभावकसम्म पोलियो खोपसम्बन्धी सन्देश पुर्याउन कार र्याली आयोजना गरिएको धमलाले बताए। रोटरी क्लब अफ इटहरीले ग्रामीण क्षेत्रका बालबालिकालाई लक्षित गरी पोलियो खोपको महत्त्वबारे जनचेतना फैलाउन हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ।
पोलियो थोपा बालबालिकालाई पोलियो रोगबाट बचाउन मुखबाट खुवाइने एक अत्यन्तै सुरक्षित र प्रभावकारी खोप हो। पोलियो भाइरसका कारण हुने यो रोगले बालबालिकाको स्नायु प्रणालीमा असर गरी पक्षाघात (लुलो-लंगडोपना) गराउने वा ज्यानै लिन सक्ने भएकाले यसबाट बचाउने एक मात्र उपाय नियमित खोप हो। पोलियो थोपा खाई पोलियो रोगबाट बच्न पाउनु सबै बालबालिकाको अधिकार हो भने रोगबाट बालबालिकालाई बचाउनु हामी सबैको कर्तव्य र दायित्व हो।
प्रकाशित: ७ कार्तिक २०८३ ०९:३५ शनिबार