काठमाडौं महानगरपालिकाले सोमबारदेखि स्तन, पाठेघरको मुख तथा सर्भाइकल (पाठेघरको तल्लो भागमा पलाउने) क्यान्सर निःशुल्क परीक्षण सुरु गरेको छ। कामपाले वीर अस्पतालसँगको सहकार्यमा सोमबारदेखि महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण लिएको हो।
सोमबार कार्यक्रमको शुभारम्भ गर्दै कामपाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य जाँच गरेकी थिइन्। सोक्रममा उनले भनिन्, ‘समयमा पत्ता लगाउन सकिएन भने क्यान्सरले जीवन लान्छ। आर्थिक अवस्था कमजोर बनाउनुका साथै परिवारको मानसिक अवस्थालाई पनि कमजोर बनाउँछ। जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ। जीवन बचाउन सकिन्छ।’ महिलाले घरमा परिवारका सदस्य बिरामी पर्नुहोला कि भनेर जसरी सचेतना अपनाउँछन् त्यसरी नै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्न उनले सबै महिलालाई अनुरोध गरिन्।
चिकित्सा विज्ञान-प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले समयमा क्यान्सर पहिचान गर्न नसकेकाले यो डरलाग्दो बनेको उल्लेख गर्दै कामपाले क्यान्सर पहिचानलाई प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदमका रूपमा रहेको बताए।
‘पाठेघरको मुखको क्यान्सर भए/नभएका बारेमा समयमा परीक्षण गराउँदा ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) पोजेटिभ देखिए महिला र परिवारका सदस्य क्यान्सर भयो भनेर डराउनुहुन्छ। एचपिभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन। यसबाट सङ्क्रमण भएर क्यान्सरको जोखिम हुनसक्ने सम्भावनाको संकेत हो’, वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा सन्ध्या चापागाईंले भनिन्। महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गराउँदा अहिलेसम्म एचपिभी-१६ र एचपिभी-१८ को परीक्षण हुँदै आएको गर्ने गरिएको उनले जानकारी दिइन्।
क्यान्सर रोग विशेषज्ञ प्रा डा चापागाईंका अनुसार गत वर्ष ९८ जनाको परीक्षण गर्दा एचपिभी-१६ र एचपिभी-१८ देखिएको थिएन। यसकारण यस वर्षको परीक्षणमा एचपिभी-६, एचपिभी-११, एचपिभी-१६, एचपिभी-१८, एचपिभी-३१, एचपिभी-३३, एचपिभी-४५, एचपिभी-५२ र एचपिभी–५८ को पनि जाँच गर्ने तयारी गरिएको वीर अस्पताल प्रयोगशालाका प्रमुख प्रकाश नेपालले जानकारी दिए। तीस वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक पाँच वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्नेमा उनले जोड दिए।
एक जनाभन्दा बढी पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभीजस्ता यौनजन्य सङ्क्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुने क्यान्सर रोग विशेषज्ञ प्रा डा चापागाईंले उल्लेख गरिन्। रासस
प्रकाशित: १७ चैत्र २०८२ ०६:३५ मंगलबार