समाज

‘जलवायु परिवर्तनले जोखिममा पुतली’

जलवायु परिवर्तनका कारण विश्वभरका पुतली आफ्नो परम्परागत बासस्थान छाडेर नयाँ क्षेत्रमा बसाइँ सर्न बाध्य हुन थालेका छन्। वैज्ञानिकहरूले यसलाई केवल पुतलीको समस्या नभई सम्पूर्ण जैविक प्रणालीमा देखिएको गम्भीर परिवर्तनको प्रारम्भिक चेतावनी भनेका छन्।

प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर इकोलोजी एन्ड इभुलुसन’ मा बुधबार प्रकाशित विश्वव्यापी अध्ययनले जलवायु परिवर्तनले पुतलीको वितरणमा व्यापक परिवर्तन आएको देखाएको हो।

विश्वका १०५ देश तथा भूभागका एक हजार सात सय ५८ प्रजातिका पुतलीमाथि गरिएका ६ हजार एक सय ८२ अध्ययनको समीक्षा तथा विज्ञहरूको मूल्यांकन समेटिएको यो अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययनमध्ये एक हो। यसले विश्वमा पाइने करिब १९ हजार पुतली प्रजातिमध्ये झन्डै १० प्रतिशत प्रजातिलाई समेटेको छ। पुतलीको वासस्थान परिवर्तनले पृथ्वीको बदलिँदो जलवायु, बिग्रँदै गएको पारिस्थितिक प्रणाली र जैविक विविधतामाथि बढ्दो संकटको स्पष्ट संकेत रहेको वैज्ञानिक मत छ।

अध्ययनअनुसार पुतलीमा देखिएका वितरण परिवर्तनमध्ये करिब ७९ प्रतिशत प्रत्यक्ष रूपमा जलवायु परिवर्तन र चरम मौसमी घटनासँग सम्बन्धित छन्। साथै वन विनाश, कृषि विस्तार, सहरीकरण, बासस्थानको खण्डीकरण तथा बाह्य प्रजातिको प्रवेशजस्ता मानवीय गतिविधिले पनि पुतलीको जीवनचक्रमा गम्भीर असर पारिरहेको छ।अनुसन्धानले करिब ८० प्रतिशत पुतली प्रजातिले आफ्नो फैलावट नयाँ क्षेत्रमा विस्तार गरेको देखाएको छ भने २७ प्रतिशत प्रजातिको पुरानो बासस्थान खुम्चिएको छ।

त्यस्तै २२ प्रतिशत प्रजाति चिसो वातावरणको खोजीमा पहाडका अझ माथिल्ला उचाइतर्फ सरेका छन्। केही प्रजातिको सन्दर्भमा एउटा क्षेत्रमा विस्तार र अर्को क्षेत्रमा संकुचन दुवै भइरहेको देखिएको छ र यसले जलवायु परिवर्तनको प्रभाव जटिल रहेको वैज्ञानिक तर्क छ।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताले पुतलीहरूले वातावरणीय परिवर्तनसँग जुध्न आफ्नो बासस्थान परिवर्तन गर्न सक्ने क्षमता देखाउनु केही हिसाबले सकारात्मक भए पनि पनि यो दीर्घकालीन समाधान नभएको चेतावनी दिएका छन्। पृथ्वीको तापक्रम अझ बढ्दै गएमा धेरै प्रजातिले नयाँ ठाउँसमेत भेट्टाउन नसक्ने अवस्था आउन सक्ने र त्यसले तीव्र रूपमा प्रजाति लोप हुने जोखिम बढाउने उनीहरूको चेतावनी छ।

विशेषगरी पहाडी तथा टापुमा मात्रै पाइने पुतलीहरू सबैभन्दा बढी संकटमा पर्ने वैज्ञानिक निष्कर्ष छ। तापक्रम बढ्दै जाँदा तिनीहरू क्रमशः माथिल्लो उचाइतर्फ सर्न बाध्य हुन्छन्। अन्ततः पहाडको टुप्पोभन्दा माथि जाने ठाउँ नहुँदा तिनीहरू ‘पासोमा परेको’ अवस्थाजस्तै भएर लोप हुने जोखिममा पुग्छन्।

अनुसन्धानकर्ताका अनुसार पुतलीलाई ‘प्रकृतिको स्वास्थ्य जाँच्ने जीवित सूचक’ मानिन्छ। पुतली तापक्रममा हुने सामान्य परिवर्तनप्रति संवेदनशील हुन्छन्। तिनीहरूको जीवनचक्र छोटो हुन्छ र विशेष प्रकारका वनस्पतिमाथि निर्भर रहने भएकाले वातावरणीय परिवर्तनको प्रभाव सबैभन्दा पहिले पुतलीमै देखिन्छ। त्यसैले पुतलीमा देखिएको परिवर्तनले भविष्यमा अन्य जीवजन्तु र वनस्पतिमा पनि यस्तै प्रभाव देखिन सक्ने संकेत दिन्छ।

अनुसन्धानले एउटा महत्त्वपूर्ण कमजोरी पनि औंल्याएको छ। जैविक विविधता अत्यधिक भएका अधिकांश उष्णतटिबन्धीय देशहरूमाझ यहाँ पुतलीबारे पर्याप्त अध्ययन भएको छैन। अहिले विश्वका करिब १० प्रतिशत पुतली प्रजातिमा मात्र वितरण परिवर्तनसम्बन्धी विश्वसनीय अभिलेख उपलब्ध छ। यसले वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

नेपालका पुतली पनि प्रभावित

नेपालका लागि यो अध्ययन अर्थपूर्ण रहेको मानिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम विश्व औसतभन्दा तीव्र गतिमा बढिरहेको विभिन्न अध्ययनले देखाएको छ। हिमाली घाँसे मैदान, वनस्पति र तिनमा आश्रित पुतलीहरू माथिल्लो उचाइतर्फ सर्दै गएपछि अन्ततः उपयुक्त बासस्थानको अभाव हुन सक्छ।

नेपालमा ६९२ विभिन्न जाति र उपजातिका पुतली पाइन्छ, तर जलवायु परिवर्तनले तिनको वितरणमा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा दीर्घकालीन वैज्ञानिक अध्ययन भने निकै सीमित छन्। नेपालका पुतलीको भौगोलिक वितरणका विषयमा विद्यावारिधि गरेका प्रा.डा. भैया खनाल पनि अध्ययनको नतिजा नेपालका लागि सान्दर्भिक रहेको बताउँछन्।

लाङटाङमा सन् २००९–२०१० ताका गरिएको एक अध्ययनले ‘कम्मन ब्लु एपोलो’ नाम गरेको पुतली एक सय मिटरमाथि उक्लेको देखिएको र तल्लो क्षेत्रमा देखिने ‘चकलेट पेन्सी’ नामक पुतली माथिल्लो उचाइमा सरेको आफ्नो अध्ययनले देखाएको प्राध्यापक खनाल बताउँछन्।

जलवायु परिवर्तनको सूचक र जंगलको स्वास्थ्य सूचकसमेत मानिने पुतलीको विषयमा नेपालमा बृहत् र दीर्घकालीन अध्ययन र राष्ट्रिय स्तरको निगरानी प्रणाली विकास आवश्यक रहेको खनाल ठान्छन्। ‘जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालमा जलवायु परिवर्तनका प्रमाणित प्रमाण पुतलीले दिन सक्छन, यस्ता अध्ययनमा सरकारी स्तरबाट वित्तीय सहयोग गर्न आवश्यक छ’, उनको भनाइ छ।

खनालले भने झैं पुतली संरक्षणका लागि केवल संरक्षित क्षेत्र घोषणा गरेर नपुग्ने र यसका लागि बृहत् संरक्षण रणनीति आवश्यक रहेको निष्कर्ष उक्त अन्तर्राष्ट्रिय अध्ययनको छ। वन र घाँसे मैदानको संरक्षण, विभिन्न बासस्थानलाई जोड्ने जैविक करिडोर निर्माण, साना चिसा आश्रयस्थल जोगाउने, नागरिक विज्ञानमार्फत पुतलीको नियमित अनुगमन गर्ने तथा सबैभन्दा महत्त्वपूर्ण रूपमा हरितगृह ग्यास उत्सर्जन घटाएर विश्व तापक्रम नियन्त्रण गर्नुपर्नेमा अध्ययनले जोड दिएको छ।

यदि लगातार बढ्दो क्रममा रहेको तापक्रम वृद्धिलाई नियन्त्रण गर्न विश्व समुदायले प्रभावकारी कदम चाल्न नसकेमा भविष्यमा केवल पुतली मात्र होइन, तिनमा निर्भर वनस्पति, चराचुरुंगी र सम्पूर्ण खाद्य शृंखलामै गम्भीर असर पर्ने चेतावनी अनुसन्धानले दिएको छ।

प्रकाशित: २५ श्रावण २०८३ ०९:१३ सोमबार