सुर्खेत बसपार्कमा यात्रुमाथि अभद्र व्यवहार गर्ने र जबरजस्ती तानातान गर्ने यातायात व्यवसायी तथा कर्मचारीमाथि प्रहरीले सार्वजनिक मुद्दा चलाउने भएको छ।
सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) माधव प्रसाद श्रेष्ठले यात्रुलाई सास्ती दिनेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) सुधिरराज शाहीलाई निर्देशन दिएका हुन्।
बसपार्क क्षेत्रमा व्यवसायी र उनका कर्मचारीहरूले यात्रुलाई जबरजस्ती तान्ने, झोला खोस्ने र लछारपछार गर्ने गरेको व्यापक गुनासो आएपछि प्रहरीले यस्तो नीति लिएको हो।
डिआईजी श्रेष्ठले भने, ‘यात्रुमाथि हुने दुव्र्यवहार सह्य हुँदैन, अब त्यस्ता व्यक्तिलाई सिधै मुद्दा चलाउनुस्।’
प्रहरीले यसअघि पनि यात्रुमाथि हुने अमानवीय व्यवहार रोक्न अभियान चलाएको थियो। तर, पछिल्लो समय ‘जेनजी आन्दोलन’ पछि यातायात क्षेत्रमा पुनः पुरानै विकृति फर्किएको गुनासो बढेको छ।
यात्रुहरूले बसपार्कमा आफू एउटा गाडीमा र झोला अर्को गाडीमा पुग्ने गरी तानातान हुने गरेको बताएका छन्। साथै, गाडीमा यात्रु चढाएपछि गन्तव्यमा जानुको साटो १ देखि २ घण्टासम्म वीरेन्द्रनगर बजारमै घुमाएर हैरानी दिने गरेको गुनासो पनि प्रहरीमा पुगेको छ।
एक पीडित यात्रुले गुनासो गर्दै भने, ‘कहिलेकाहीँ दुई घण्टामा कोहलपुर पुगियो होला भनेर घरमा फोन गर्दा गाडीवालाले सुर्खेतमै घुमाइरहेका हुन्छन्। केही बोल्यो भने उल्टै निहुँ खोज्छन्। अब बसपार्कबाट छुटेको गाडी फर्कन नमिल्ने गरी निगरानी हुनुपर्छ।’
पत्रकार सम्मेलनमा प्रहरीले कर्णाली प्रदेशभर सम्पादन गरेका उत्कृष्ट कामहरूको जानकारी समेत गराएको थियो। प्रहरीले लागुऔषध नियन्त्रणमा कडाइका साथ अनुसन्धान अघि बढाउँदा धेरै सफलता मिलेको दाबी गरेको छ।
कार्यक्रममा कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख (एसपी) भावेस रिमालले ट्राफिक प्रहरीको आचरणका विषयमा प्रमाणसहित गुनासो आए तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाए।
यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) सुधिरराज शाहीले सवारी दुर्घटना न्यूनीकरण र लागुऔषध नियन्त्रणका लागि सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए।
प्रकाशित: ७ पुस २०८२ १६:११ सोमबार