उत्तरका प्रमुख दुई नाका बन्द हुँदा चीनबाट सामान लिएर आएका करिब १५ सय कन्टेनर चिनियाँ भूमिमै रोकिएका छन्। तिजसहितका चाडपर्व लक्षित सामान रोकिँदा व्यापारी मर्कामा परेका छन् । असार तेस्रो साताको बाढीले रसुवाको सीमास्थित मितेरी पुल बगाएपछि मालवाहक करिब चार सय कन्टेनर केरुङ नाकाभन्दा उतै रोकिएका छन् । करिब तीन सातादेखि तातोपानी नाका बन्द हुँदा करिब एक हजार बढी कन्टेनर तातोपानी नाकापारि रोकिएका छन्।
केरुङ र तातोपानी नाका बन्द हुँदा १५ सय बढी मालवाहक कन्टेनर सीमापारि नै रोकिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले बताए । ‘दुई नाकामा सामान रोकिँदा व्यवसायीलाई ठुलो मर्का परेको छ,’ कार्कीले भने, ‘चाडपर्वलक्षित सामान चिनियाँ भूमिमा रोकिए।’
केरुङ नाकाको पुल बाढीले बगाएकाले बेलिब्रिज नबनाउँदासम्म तत्काल खुल्ने सम्भावना छैन । साउन १८ गते सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित इकोमा पहिरो गएका कारण तातोपानी नाका अवरुद्ध भएको हो। अवरुद्ध तातोपानी नाका भने बिहीबारदेखि सञ्चालनमा आएको छ। तातोपानीी नाकाबाट बिहीबार ५० वटा ट्रक भित्रिएका छन् । यो नाकाबाट दैनिक एक सय गाडी पास हुँदा पनि रोकिएका सामान नेपाल ल्याउन करिब डेढ महिना लाग्ने देखिन्छ। ‘बिहीबारबाट तातोपानी नाका खुले पनि रोकिएका सामान ल्याउन एक महिना बढी समय लाग्छ,’ कार्कीले भने।
सीमा क्षेत्रमा रोकिएकाबाहेक थप पाँचसात सय मालवाहक कन्टेनर चीनका विभिन्न सहरमा यता हिँड्ने तयारीमा रहेको कार्कीले बताए।
चीनबाट भारतको कोलकाता बन्दरगाह हुँदै सामान ल्याउन करिब ४५/५० दिन लाग्छ। चाडपर्वका लागि ल्याइएका सामान सीमापारि नै रोकिँदा व्यवसायी मर्कामा परेको नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताए। केरुङतर्फ रोकिएका सामान सीमाबाट २६ किलोमिटर टाढा छन् । वर्षा भयो भने तातोपानी नाका फेरि रोकिने सम्भावना छ।
रेडिमेट कपडा, इलेक्ट्रोनिक्स सामान, गार्मेट, मोबाइललगायतका सामग्री बोकेका कन्टेनर बिचैमा रोकिएका हुन् । ‘तिजमा सामान बेचेर दसैंका लागि फेरि खरिद गर्ने योजना सफल भएन,’ उपाध्यक्ष कार्कीले भने, ‘चाडपर्वलक्षित सामान रोकिँदा सामान पनि महंगिने भएको छ।’ तातोपानी नाकापारि स्याउ, लसुनलगायत तरकारी लिएर आएका कन्टेनर रोकिएपछि व्यापारीले बोकाएर ल्याएका थिए।
नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ। तातोपानी र केरुङबाट सामान आयात गर्दा बढीमा २० दिनमै आइपुग्ने भएकाले नेपाली व्यापारी यी दुई नाकाबाट सामान ल्याउन चाहन्छन्। भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ५० दिन लाग्छ। तातोपानी र केरुङ हुँदै आयात गर्दा आधा समय कम लाग्ने भएकाले कम खर्चिलो पनि हुन्छ।
आयात व्यापारमा चीन नेपालको दोस्रो ठुलो साझेदार हो। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढीको र रसुवागढीको केरुङ नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ। व्यवसायीले यी दुईका नाकाका विकल्पमा अन्य नाका खोल्न माग गरेका छन्। हरेक वर्ष यी दुई नाकामा कुनै न कुनै अवरोध हुने गरेको छ। रसुवागढी र तातोपानी वर्षायाममा हरेक वर्षजसो बन्द हुने भएकाले चीनसँग स्थल मार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनुपर्ने नेपाल समुद्रपार निकासी पैठारी संघले जनाएको छ।
चीनसँगको आयात–निर्यात सहज बनाउन अन्य नाकाहरू खोल्नु जरुरी रहेको नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालले बताए। ‘कूटनीतिक पहलमार्फत अन्य वैकल्पिक नाकाहरूमा पूर्वाधारको व्यवस्था गर्नुपर्छ,’ उनले भने।
संसद्को विकास समितिले २०७२ सालमै अध्ययन गरी कोरला र ओलाङ्चुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो। नेपाल र चीन सरकारका उच्च अधिकारीहरू एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सातवटा उत्तरी नाका खोल्न सहमत भएका थिए। ती नाकाहरूमा तातोपानी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए । तर हालसम्म रसुवागढी र तातोपानीबाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन्।
कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ। कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ। नेपालतर्फ पनि कोरालासम्म सडक पुगिसकेको छ। ताप्लेजुङको ओलाङ्चुङगोला नाकाबाट पनि दुई मुलुकबिचको व्यापार सञ्चालन गर्न सकिने अवस्था छ। ‘यी नाकाहरू छिटोभन्दा छिटो व्यापारिक प्रयोजनका लागि खुला गर्न र व्यापारिक हिसाबले उपयुक्त अन्य नाका पनि सञ्चालनमा ल्याउने वातावरण तयार गर्नुपर्छ,’ महासचिव अग्रवालले भने।
प्रकाशित: ६ भाद्र २०८२ ०७:५६ शुक्रबार